वैदेशिक रोजगारी : १५ वर्षमा १२ हजार नेपालीले ज्यान गुमाए

| २०८० भदौ १७ गते २०: ५७ मा प्रकाशित

काठमाडौं । दु:ख गर्नका लागि विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यतामा छन्।

पछिल्लो समय आफ्नै देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको आकर्षण केन्द्र बनेको हो।

घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। लाउलाउ खाउखाउ उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशिन बाध्य युवाको दु:ख पीडा भनिसाध्य छैन। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन् भने कतिले प्राण त्याग्छन्।

त्रिभुवन विमानस्थमा दिनहुँ  १० देखि ११ वटासम्म लाशका कफिन भित्रिने गरेको विमानस्थल भन्सार कार्यालयको तथ्यांक छ। 

१२ हजारले ज्यान गुमाए, ५७ लाख विदेशिए

पछिल्लो १५ वर्षमा  १२ हजार १ सय ४० जनाले रोजगारीका क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ।

आर्थिक वर्ष २०७९ साउनदेखि २०८०  भदौ १५ सम्ममा मात्र १३ सय ४५ वटा शव नेपाल आएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका पवक्ता अम्बिका प्रसाद खनालले जानकारी दिए। 

सोही (१५ वर्ष) अवधिमा  ५७ लाख ७२ हजार १ सय ६० जना रोजगारीका लागि विदेशिएका छन्। विदेशिनेमा महिलाको तुलनामा पुरुषको संख्या झण्डै दोब्बर छ।

तथ्यांकअनुसार पुरुष ५४ लाख १३ हजार ७ सय ८४ महिला ३ लाख ५८ हजार ३ सय ७६ जना छन्। आर्थिक वर्ष २०७९-८० मा मात्रै सबैभन्दा बढी ७ लाख  ७१ हजार ३ सय २७ भन्दा बढीले रोजगारीका लागि नेपाल छोडेका छन्।

सोही अवधिमा रोजगारीकै क्रममा २ हजार ५ सय १४ जान अंगभंग भएका छन्। सीप नसिकी रोजगारीमा जानु तथा सुरक्षाका उपायहरू नअपनाउनुले अंगभंगको जोखिम बढाउने वैदेशिक रोजगार बोर्डका प्रवक्ता राजन पौडेल बताउँछन्।

नेपालमा रोजगारी दिने अवस्था छैन : श्रममन्त्री

रोजगारीको खोजीमा विदेश जानेको लर्को लागिरहँदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने विदेश पठाउने अड्डा जस्तै बनेको छ।

विदेश जाने युवाहलाई स्वदेशमै तत्काल काम दिने अवस्था नरहेको श्रममन्त्री शरद् सिंह भण्डारी बताउँछन्।

थाहाखबरको प्रश्‍नमा उनी भन्छन्, 'अहिले मुलुकको आर्थिक गतिविधि धेरै अप्ठयारो अवस्थामा छ, उद्योगधन्दा चल्न सकेको छैन युवाहरूलाई तत्काल रोजगारी दिन सक्ने अवस्था छैन, यो रहर हैन, बाध्यकारी अवस्था हो।' स्रोत - थाहा खबर 

प्रतिक्रिया दिनुहोस्