निजी स्कुलको अनौठो अफर : कक्षामा जति सुते पनि हुने तर पैसा तिर्नुपर्ने

| २०८० भदौ १९ गते १४: ५५ मा प्रकाशित

कुनै पनि स्कुलले सायद विद्यार्थीहरुलाई कक्षाकोठामै सुत्ने अनुमति दिँदैनन् । तर चीनको एउटा निजी स्कुलले भने विद्यार्थीहरुलाई कक्षामै मनलाग्दी निदाउने छुट दिएको छ । र, त्यसरी सुतेबापत विद्यार्थीले छुट्टै शुल्क तिर्नुपर्नेछ ।

दक्षिणपूर्वी चीनको गुआंगडोंग प्रान्तमा रहेको जिशेंग प्राथमिक विद्यालयले विद्यार्थीबाट शैक्षिक शुल्कमात्र होइन निद्रा शुल्कसमेत असुल गरी थप आम्दानी गर्न चाहेको छ । यसका लागि कक्षा समयमा सुतेबापत विद्यार्थीबाट थप शुल्क लिइनेछ।

समाचार प्लाटफर्म Xibu Juece का अनुसार स्थानीय शिक्षा ब्युरोका अधिकारीहरुले नयाँ शुल्क एकीकृत नियमन अन्तरगत नभए पनि निजी स्कुललाई त्यस्तो कदम उठाउने अधिकार भएको बताएका छन् ।

विद्यालयले आफ्ना अभिभावक तथा शिक्षकको विच्याट ग्रुपमा निद्रा शुल्कका बारेमा सूचना पठाएको स्क्रिनसटसमेत सार्वजनिक भएको छ । शुल्क लिनुपर्नाको कारण नबताइएको भए पनि यसमा तीन प्रकारका चिजलाई सूचीबद्ध गरिएको छ ।


जसअन्तर्गत यदि कुनै विद्यार्थी एक पिरियडका लागि डेस्कमै अडेस लागेर निदाउन चाहन्छ भने त्यसका लागि २ सय युआन शुल्क लाग्नेछ । त्यस्तै कक्षामै गुन्द्रीमै सुत्न चाहने विद्यार्थीले ३६० युआन शुल्क तिर्नुपर्नेछ भने निजी कोठामा गएर ओछ्यानमा सुत्नका लागि ६८० युआन शुल्क लाग्नेछ ।

विद्यालयले सुतेका विद्यार्थीहरुको निगरानी तथा हेरचाहका लागि छुट्टै कर्मचारीहरुको व्यवस्था पनि गरको छ । त्यस्तै विद्यालयले कक्षामै सुत्न नचाहने विद्यार्थीका लागि दिउँसोको खाजा समयमा घर जाने विकल्प पनि दिएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्