अर्घाखाँचीको पाणिनिमा यस बर्ष ७ करोडको सुन्तला उत्पादन

| २०७८ पौष १३ गते १५: ५८ मा प्रकाशित

प्रेमनारायाण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको पाणिनि गाउँपालिकामा यस बर्ष करिब सात करोडको सुन्तला उत्पादन भएको छ। गाउँपालिका १ सिम्लेमा मात्र एकै गाउँमा ६७ घरका कृषकले व्यवसायीक सुन्तला उत्पादनमा गरेका छन्। उनीहरूले सुन्ताल बेचेर कम्तीमा प्रत्येक घरले तीन देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए। 

पाणिनि गाउँपालिकामा मात्र यस बर्ष ७ करोडको सुन्तला उत्पादन भएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए। गाउँपालिका १ पणेना, २ को पोखराथोक, ३ को खिदीम र ४ को पटौटीमा सुन्तला तथा सुन्तला जातका फलफुल बार्षिक ७ करोड रुपैयाँको भन्दा बढी उत्पादन हुने अध्यक्ष गौतमको दाबी छ। 

विगतका वर्षहरूमा यहाँ उत्पादन भएका सुन्तला कृषकले प्रति किलो ६० रुपैयाँ देखि ६५ रुपैयाँमा बुटबल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्न बाध्य थिए। तर, यस बर्ष पाणिनि गाउँपालिकाले शित भण्डार बनाएपछि कृषकले शित भण्डारमा भण्डारण गरेका छन्। 

अहिले मौषमी रूपमा सस्तो मुल्यमा बेच्नु भन्दा शित भण्डारमा राखेर बैमौषमी समयमा महंगो दरमा सुन्तला बिक्री हुने भएपछि कृषक खुशी भएको अगुवा कृषक चन्द्रकान्त पौडेल बताउँछन्। सिम्लेमा वैदेसिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यवसायीक सुन्तला खेतीमा लागेका छन्। व्यवसायीक सुन्तला खेतीमा लागेका सिम्लेका हरि पौडेलको बगैचामा झण्डै तीन सय पचास सुन्तलाका रुख छन्। ती रुखहरूबाट बार्षिक १० देखि १२ लाख रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन्। यस बर्ष शित भण्डारमा राखेको हुँदा बढी फाइदा हुने उनको अनुमान छ। 

सिम्लेकै अर्का सुन्तला कृषक चिरञ्जिबी पौडेलको बारीमा अहिले सात सय सुन्तलाका बोटहरू छन्। जसमध्ये ४ सय बोटहरूले उत्पादन दिएका छन्। गत बर्ष १२ लाख आम्दानी भएकोमा यस बर्ष झण्डै २० लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ। 

सिम्लेमा अन्य पेशामा लागेका व्यक्तिहरूले पनि कृषि पेशालाई अंगालेका छन्। दाङको संस्कृत विश्व विद्यालयमा २० बर्षदेखि प्राध्यापन पेशा अंगालेका ध्रुब गौतमले सुन्तला खेतीलाई निरन्तरता दिएका छन्। पुख्र्यौली जग्गामा सुन्तला खेतीलाई निरन्तरता दिएका उनले बार्षिक झण्डै १० लाख रुपैयाँ आम्दानी हुने बताए।  

सुन्तला बिक्रीबाट मात्र नभइ सुन्तला र सुन्तला जातका बिरुबाको नर्सरी राखि त्यसका बिरुवाहरू बेचेर पनि सिम्लेका कृषक रेवतीराज पौडेलले वार्षिक ११ लाख रुपैयाँ कमाउने गरेका छन्। उनको बगैचामा अहिले सुन्तला, कागती, जुनार, इन्डियन किन्नु जातको सुन्तला, जापनीज उन्सु जातको सुन्तलाका बिरुबा रहेका छन्। उनले सुन्तला जातका  बिरुबाहरू बिक्री गरेर झण्डै पाँच लाख रुपैयाँ आम्दानी हुने बताए। त्यसैगरी सुन्तला बेचेर उनले बार्षिक ११ लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन्। 

२०२७ सालमा भारतमा सिपाहीको जागिर गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने असब्य शब्द सुन्नुपथ्र्यो सिम्लेका ७५ वर्षिय हुमनाथ पौडेललाई। यही कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर उनी स्वदेस फर्किएका थिए। तर अहिले उनी अर्घाखाँचीकै सफल नमुना सुन्तला कृषक बन्न सफल भएका छन्।  उनी आफुले मात्र सुन्तला लगाएनन्। सारा गाँउका मानीसलाई नै सुन्तला खेती गर्न प्रेरित गरे। आफै डोकोमा बोकेर घरघरमा सुन्तलाका बिरुवा पुर्‍याए। पैसा हुनेलाई बिरुबा बेचे नहुनेसँग श्रम साटे। कसैसँग अन्न, डोको नाम्लो र दाउरा लिएर पनि सुन्तलाका बिरुवा दिए। कसैकसैलाई निशुल्क बिरुबा दिएर पनि सुन्तला खेती गर्न उनले प्रेरित गरे। 
उनले सुन्तला खेतीबाट बार्षिक ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन्। यसपाली सुन्तला राम्रो फलेकाले ६ लाख भन्दा बढी आम्दानी हुने उनको अनुमान छ। उनको बगैचामा अहिले झण्डै साढे ५ सय सुन्तलाका बिरुवा छन्। बारी, खेत, खर्क सबैमा सुन्तला खेती गरेका छन्। 

एक ब्यक्तिको पहलमा २०२७ सालदेखि सुरु भएको खेतीले अहिले पाणिनि गाउँपालिका–१ पणेना र वडा नम्वर २ पोखराथोकको प्रमुख उत्पादनको स्रोत सुन्तला बनेको छ। पणेनामा दुई सय र वडा न १ सिम्लेमा मात्रै झण्डै ६७ जना कृषकले अहिले सुन्तला खेतीबाट वार्षिक कम्तीमा एक लाख  देखि बढीमा २० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।  

प्रतिक्रिया दिनुहोस्