गठबन्धनबाट सन्धिखर्क प्रमुखमा महिला उम्मेदवार

| २०७९ बैशाख १२ गते २२: ३२ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्कमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी लुम्विनी प्रदेश सदस्य शान्ता भण्डारीले मेयर पदमा उम्मेद्धारी दर्ता गरेकी छिन। गठबन्धनको तर्फबाट उपमेयरमा नेकपा माओवादीका जिल्ला संयोजक राजेन्द्र भुसालले उम्मेद्धारी दर्ता गराएका छन्। 

नेकपा एमालेको तर्फबाट मेयरमा कृष्ण प्रसाद श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्यले उम्मेद्धारी दर्ता गराएका छन्। मेयमा उम्मेद्धारी दर्ता गरेका श्रेष्ठ २०७४ सालको निर्वाचनामा मेयर पदमा नेपाली कांग्रेसका कमलप्रसाद भुसालसंग पराजीत भएका थिए। 

सन्धिखर्ककमा राप्रपाबाट मेयरमा ध्रुबराज आचार्य र उपमेयरमा सुनिता गिरीले उम्मेद्धारी दर्ता गराएका छन्। जनता समाजवादी पाटीको तर्फाबाट मेयर पदमा टोपबहादुर बलाल र उप मेयरमा रमा आचार्यले उम्मेद्धारी दताए गराएका हुन्। मेयर पदमा स्वतन्त्रबाट राजेन्द्र नेपालीले पनि उम्मेद्धारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृतको कार्यालयका नायव सुब्बा टेकराज गैरेले बताए।

शितगंगा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका छबिलाल पौडेल र उपमेयरमा नेकपा माओवादी केन्द्रका टिका रेस्मीले उम्मेद्धारी दर्ता गरेका छन्। नेकपा एमालेको तर्फबाट मेयरमा बसन्त कुमार श्रेष्ठ र उपमेयरमा गिता भाटले उम्मेद्धारी दर्ता गरेका छन्। 

भुमिकास्थान नगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले उम्मेद्धारी दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट रेशम थापा क्षेत्री र उपमेयरमा बसन्ता पौडेलको उम्मेद्धारी परेको हो। राप्रपाबाट मेयरमा अर्जुन खनालको समेत उम्मेद्धारी परेको निर्बाचन अधिकृत शान्ती न्यौपानेले बताइन्। 

पाणिनि गाउँपालिकामा नेपाली कांग्रेसका अच्युत गौतमले अध्यक्ष र उपाध्यक्षमा लक्ष्मी गौतमले उम्मेद्धारी दर्ता गरेका छन्। दुबै जना २०७४ सालको निर्बाचनमा अध्यक्ष र उपाध्यक्षमा निर्बाचित भएका थिए। नेकपा एमालेको तर्फबाट अध्यक्षमा टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेलको उम्मेद्धारी परेको छ। राप्रपाबाट अध्यक्षमा फर्सुराम पौडेल र जसपाबाट अध्यक्षमा माधब राज पोख्रेलको उम्मेद्धारी परेको निर्बाचन अधिकृत महेश खनालले बताए। 

छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालले उम्मेद्धारी दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनी पन्थीले उम्मेद्धारी दर्ता गरेका छन्। राप्रपाबाट अध्यक्षमा गोपाल प्रसाद पाण्डे र उपाध्यक्षमा रेखा कुँवरको उम्मेद्धारी परेको छ। बिबेकशिल साझा पाटीको तर्फबाट अध्यक्षमा पशुपति पाण्डेको उम्मेद्धारी परेको निर्बाचन अधिकृत निराजन शर्माले बताए। उनका अनुसार सबै पदमा गरेर १ सय १ जनाको उम्मेद्धारी परेको छ।  

मालारानी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनालले उम्मेद्धारी दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोख्रेलको उम्मेद्धारी परेको छ। 

प्रतिक्रिया दिनुहोस्