मातृशोकमा परेका मेयर पदका उम्मेदवार श्रेष्ठले पठाउनुभयो मतदातालाई पत्र

| २०७९ बैशाख २६ गते १७: ४५ मा प्रकाशित

अर्जुन भुसाल ,अर्घाखाँची।  मातृ शोकमा पर्नुभएका नेकपा एमाले सन्धिखर्कका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले मतदाता समक्ष सन्देश पत्र पठाउनु भएको छ । आमा उमाकुमारी श्रेष्ठको २६ गते ८६ वर्षको उमेरमा  आफ्नै घरमा निधन भएको हो । 

प्रचार प्रसारकै क्रममा आमाको निधन भएपछि उहाँ पितृ कार्यमा रहनुपर्ने भएकाले मतदाता समक्ष आफू उपस्थित हुन नसकेको सन्देश पठाउनु भएको हो ।  
‘यही २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा म कृष्णप्रसाद श्रेष्ठ नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवार बनेको यहाँहरुलाई अवगत नै छ । सुर्य चिन्हमा मत माग्न यहाँहरुको घरदैलोमा आउने मेरो चाहना थियो  तर दुर्भाग्यवश  २०७९ वैशाख २६ गते मेरी आमा उमाकुमारी श्रेष्ठको ८६ वर्षको उमेरमा भएको असामयिक निधनले हजुरहरुको घरदैलोमा आउने चाहना पुरा हुन सकेन’, श्रेष्ठले सन्देश पत्रमा लेख्नुभएको छ, ‘आमा गुमाउनु पर्दाको यो समय मेरो लागि जीवनकै सबै भन्दा पीडादायी बनेको छ । 

म लगायत मेरो सम्पूर्ण टिमलाई सुर्य चिन्हमा मतदान गरी अत्यधिक मतका साथ विजयी बनाउनुहुन हार्दिक अनुरोध गर्दै निर्वाचित भइसकेपछि हजुरहरु समक्ष आई दुःख, सुखमा सँगै हुने र सन्धिखर्कको समग्र विकासका लागि अहोरात्र खट्ने बाचा गर्दछु ।’ स्वर्गीय उमाकुमारीका श्रीमान, चार छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्