सन्धिखर्कलाई देशकै उत्कृष्ट नगरपालिका बनाउने छु: मेयर पदका उम्मेदवार श्रेष्ठ

| २०७९ बैशाख २७ गते १७: ४४ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। स्थानीय तहको निर्वाचन नजिकिएसँगै  चहलपहल बढेर गएको छ । उम्मेदवारहरु मतदातासँग मत माग्नमा व्यस्त छन् । सन्धिखर्कमा नेकपा एमालेले लोकप्रिय नेता कृष्णप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । चुनावी एजेण्डा,जित्ने आधार र समग्र चुनावी गतिविधिमा आधारित रहि लुम्बिनी पोष्टका सम्पादक अर्जुन भुसालले मेयर पदका उम्मेदवार श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश ।  

तपाइलाई मतदाताले भोट किन दिने ? 

मलाई भोट दिन मिल्ने थुप्रै आधारहरु छन् । मैले सन्धिखर्क नगरपालिकालाई समृद्ध बनाउन सक्छु । म जनताको भावना अनुसार चल्न सक्ने व्यक्ति हुँ । मैले जितेपछि सबैलाई समान व्यवहार गरेर अघि बढ्ने छु । मैले जनता प्रति बेइमानी गर्ने छैन । नगरपालिकाको मुहार फर्ने गरी काम अघि बढाउने छु । मलाई मत दिई विजयी बनाउने मतदातालाई पछुतो हुने अवस्थाको सिर्जना हुन दिने छैन । थुप्रै लोकप्रिय र प्रभावशाली कार्यक्रम ल्याई नगरबासीलाई हरेक क्षेत्रमा राहत प्रदान गर्ने गरी काम अघि बढाउने छु । नगरबासीले साच्चै नै जनमुखी मेयरको रुपमा मलाई देख्ने छन् । मलाई भोट दिने भनेको नगरको विकास, सुशासन, समृद्धि र समुन्नतीको लागि हो 

तपाइका चुनावी एजेण्डा के/के हुन ? 

हामीले थुप्रै एजेण्डा अघि सारेका छौं । हाम्रा एजेण्डाहरु प्रतिवद्धतापत्र मार्फत लिएर आएका छौं । हामी गर्न नसक्ने कामलाई प्रतिवद्धतामा समावेश गरेका छैनौं । ‘शिक्षा, ‘स्वास्थ्य, कृषि, पर्यटन र दीगो पूर्वाधार,समृद्ध सन्धिखर्क निर्माणको लागि एमालेका आधार’ भन्ने नारा तय गरेर प्रतिबद्धता पत्र लिएर आएका छौं । थुप्रै  लोकप्रिय र दीर्घकालिन महत्वका कामहरु गर्ने योजना अघि सारेका छौं । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुदको क्षेत्रमा फड्को मार्ने गरी काम अघि बढाउने लक्ष्य राखेका छौं । महिला, दलित, अपाङ्ग, जेष्ठनागरिक, गरिव, निमुखा वर्गको उत्थानका लागि छुट्टै संयन्त्रको निर्माण गरी काम अघि बढाउनेछौं । उद्योग, व्यापार,व्यवसायको प्रवद्र्धनका लागि लगानी सम्मेलनको आयोजना गरिने छ । सरकारी विद्यालयको पढाइलाई गुणस्तरीय बनाई शिक्षामा देखिएको विभेद् अन्त्य गर्नेछौं । सन्धिखर्कमा रहेको जिल्ला अस्पताललाई ५० शैयाको बनाई  विशेषज्ञ सेवा प्रदान गर्नेछौं । कृषि गर्न चाहने युवालाई सहुलियत कर्जा उपलब्ध गराई स्वरोजगार बनाउन प्रेरित गर्नेछौं । सन्धिखर्कलाई तरकारी, दूध, मासुमा आत्मनिर्भर बनाउनेछौं । खाद्यान्न (धान, मकै गौं, कोदो, फापर, भटमास आदि ) उत्पादनमा वृद्धि गरी आयातलाई घटाउन पहल थाल्नेछौं । सन्धिखर्कमा पर्ने सुपा र नरपानीमा पर्यटन क्षेत्रको विकासका लागि संभावनाहरुको खोजी गर्नेछौं । सुपा, नरपानी आउने पर्यटकलाई सन्धिखर्क हुँदै अर्घा भगवति मन्दिर सम्म पुग्ने वातावरण सिर्जना गर्नेछौं । नरपानी– मसिनाको लेक क्षेत्रलाई हिलस्टेशनको रुपमा विकास गर्न डिपिआर तयार गरी प्रक्रिया अघि बढाइने छ । पाणिनि बहुमुखी क्याम्पसको भौतिक तथा शैक्षिक अवस्थामा व्यापक सुधार तथा विस्तार गर्नेछौं । सन्धिखर्कका विभिन्न ठाउँमा  प्राविधिक शिक्षालयको स्थापना गर्नेछौं । गरिव परिवारमा जन्म लिएको विद्यार्थीलाई पढन बञ्चित हुने अवस्थाको अन्त्य गर्नेछौं । सन्धिखर्कमा चहलपहल घट्दै  गइरहेको छ ।  शिक्षा स्वास्थ्य र पर्यटन क्षेत्रको विकास हुनसाथ सन्धिखर्कको चहलपहल बढेर जान्छ, व्यापार, व्यवसाय पनि बढ्छ । हामी सन्धिखर्कलाई साच्चिकै नमूना, हरियाली र समृद्ध नगर बनाउने एजेण्डा तय गरेर चुनावी मैदानमा उत्रिएका छौं ।      

जित्ने आधार के/के हुन ? 

मैले जित्ने प्रमुख  कारण भनेको हाम्रो पार्टीको संगठन बलियो हुनु नै हो । हाम्रो पार्टी अहिले जत्तिको बलियो इतिहासमा कहिल्यै थिएन । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपि ओलीले दुई पटक सम्म सरकारको नेतृत्व गरेपछिका राम्रा कामबाट एमाले प्रतिको आकर्षण निकै बढेर गयो । जनताको माया र भरोसाले पार्टी निकै ठूलो बन्न पुग्यो । जस्का कारण एमालेको शक्तिबाट अताल्लिएर सबै दल एक ठाउँमा उभिन पुगे । नेकपाको निरन्तरता स्वरुप हाम्रो पार्टीमा माओवादी केन्द्रका थुप्रै नेता, कार्यकर्ता समाहित हुनु भएको छ । मैले चुनाव जित्ने दोस्रो कारण भनेको मेरो ‘लोकप्रियता’ हो । सामाजिक क्षेत्रमा पु¥याएको योगदानका कारण सबै सामु परिचित छु । मेरो उम्मेदवारीले एक खालको उत्साह थपिएको छ । यसपटक नगरको नेतृत्व तपाइले गर्नुपर्छ भनेर पार्टी भन्दा बाहिरबाट आवाज बुलन्द भएको स्थिति छ । नागरिक समाज र बौद्धिक क्षेत्रबाट पनि सहयोग पाउने अवस्था सिर्जना भएको छ । 

सामाजिक क्षेत्रमा तपाइको योगदान के हो ? 

मैले उद्योग वाणिज्य संघमा २५ वर्ष विताएँ । १६ वर्ष अध्यक्ष भएर काम गरेँ । दुई कार्यकाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यको रुपमा समेत काम गर्ने मौका पाएँ ।  उद्योग वाणिज्य संघमा रहेर काम गर्दा समाजिक क्षेत्रमा मैले धेरै काम गरेको छु । जनप्रतिनिधि विहिन अवस्थामा मैलै संघमा रहँदा प्रतिनिधिकै भूमिका निभाउने काम गरेको छु । जिल्लाको विकास निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिने र पहल कदमी गर्ने काममा म सधै अग्रपङ्तिमै रहेर काम गरेँ । अखण्ड पाँच नम्वर प्रदेशको आन्दोलनको अगुवाइ हामीले  गरेका हौं । जस्का कारण अर्घाखाँची सहितका पहाडी जिल्ला लुम्बिनीबाट अलग हुन पाएनन् । उद्योग वाणिज्य संघमा रहँदा व्यवसायीको हितमा थुप्रै काम गर्न सफल भएँ । कला संस्कृतिको जर्गेना गर्ने र कलाकारहलाई प्रोत्साहन तथा सहयोग गर्ने काममा मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । सन्धिखर्कमा पर्ने ठूला समस्याको समाधानका लागि मैले विशेष भूमिका निर्वाह गर्दै आएको छु ।  दुखि, गरिव, विपन्न वर्ग र विभिन्न जटिल रोगका विरामीहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छु । भूकम्प गएका बेला राहत, उद्धार तथा  कारोनाका कारण भएका लकडाउनहरुमा मैले राहत तथा सहयोग प्रदान गरेको छु । समाजिक क्षेत्रमा अझै थुप्रै काम गर्ने धोको छ । मेयर पदमा निर्वाचित भएपछि मैले पाउने तलव, भत्तालाई दुखि गरिब तथा विपन्न वर्गको सहयोगमा खर्च गर्ने छु । नगरपालिकाबाट सेवामूलक र परोपकारको क्षेत्रमा विशेष योजना तयार गरेर काममा लाग्ने छौं । उपचार खर्च नपाएर मर्नु पर्ने विडम्वनापूर्ण अवस्थाको अन्त्य गर्न म लागि पर्ने छु ।  

अघिल्लो पटक मेयरमा प्रतिस्पर्धा गरेर कांग्रेस र माओवादी केन्द्रको दुई दलिय गठबन्धनलाई पराजित गर्न सक्नुभएन, यो पटक एमाले बिरुद्ध पाँच दलिय गठबन्धन बनेको छ, जित कसरी संभव छ ?  

अघिल्लो पटक पनि म जितको नजिक पुगेको हुँ । अलिकति तयारी नपुग्दा म पराजित भएँ । एक्ला एक्लै प्रतिस्पर्धा भएको भए मेरो जित निश्चित थियो । यो पटक एमालेका बिरुद्ध पाँच दलिय गठबन्धन भएको छ । गठबन्धनसँग कुनै चुनावी एजेण्डा नै छैन । हामी  स्पष्ट चुनावी एजेण्डा बोकेर मैदानमा छौं । गठबन्धनमा रहेका पाँच दल क्षणिक रुपमा मिलेजस्तो गरेपनि उनीहरु बीचमा फाटो आउने निश्चित छ । यो पटक गठबन्धन जनताको रोजाइमा नपर्ने निश्चित छ । एमाले प्रतिको आकर्षण देखेर उनीहरु आत्तिएका छन् । उनीहरु प्रति जनताको विश्वास, भरोसा तथा सहानुभूति छैन । हामी प्रति जनताको अगाध माया छ । हामी निकै उत्साहित छौं ।  नेकपाको निरन्तरता स्वरुप हाम्रो पार्टीमा थुप्रै नेता कार्यकर्ता समाहित हुन भएको छ । टोपबहादुर रायमाझी, चन्द्रबहादुर खडका जस्ता प्रभावशाली नेताहरु एमालेमा समाहित हुनुभयो । माओवादी केन्द्रका थुप्रै नेता÷ कार्यकर्ता हामीसँगै हुनुहुन्छ । संयौंको संख्यामा  कांग्रेस, राष्ट्रिय जनमोर्चाका नेता,कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गरेको स्थिति छ । सबै दल मिल्दा पनि हामी अघिछौं । त्यसैले यो पटक जित निश्चित छ ।   

अन्त्यमा के भन्नुहुन्छ ?
 
सन्धिखर्क नगरपालिकाको नेतृत्व मैले गर्दैछु । उपमेयरमा सक्षम महिला नेतृ मिश्रा आचार्य प्रतिस्पर्धामा हुनुहुन्छ ।  वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरु सबै सक्षम हुनुहुन्छ । तपाईहरुले गरेको विश्वास र भरोसालाई हामी टुट्न दिने छैनौं । हरेक बाचाहरु पुरा गर्नेछौं । समृद्ध सन्धिखर्क निर्माणको परिकल्पना साकार पारेर छाड्नेछौं ।त्यसैले यो पटक सम्पूर्ण सुर्य ध्वजाबाहक उम्मेदवारहरुलाई सुर्य चिन्हमा अमूल्य मत दिई विजयी बनाउनुहुन बिनम्रतापूर्वक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्