एकीकृत समाजवादी अर्घाखाँची जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न

| २०७९ जेठ १५ गते १५: ३३ मा प्रकाशित

अर्घाखाँची। नेपाल कम्युनिष्ट  पार्टी ( एकीकृत समाजवादी )  जिल्ला कमिटी , अर्घाखाँचीको तेस्रो पूर्ण  बैठक  जिल्ला  पार्टी  कार्यालय सन्धिखर्कमा विभिन्न  महत्त्वपूर्ण  निर्णयहरुका साथ  सम्पन्न भएको छ ।
 
बैठकमा जिल्लास्थित  ६ वटै पालिकाका  इन्चार्ज  र अध्यक्ष कमरेडहरुले  हालै  सम्पन्न  स्थानीय  निर्वाचन र आगामी  दिनमा  पार्टीले अवलम्बन  गर्नुपर्ने रणनीतिको सन्दर्भमा आ- आफ्नो  पालिकाको तर्फबाट समिक्षात्मक प्रतिवेदनहरु प्रस्तुत  गर्नुभएको  थियो । 

बैठककले नेकपा ( एकीकृत समाजवादी ) लगायत अन्य  राजनीतिक दलहरुको तर्फबाट  हालै  सम्पन्न स्थानीय  निर्वाचनमा बिजय  हासिल गर्नुहुने सम्पूर्ण जनप्रतिनिधिज्युहरुलाई हार्दिक  बधाई  र उत्कृष्ट  कार्यकालको शुभकामना  समेत व्यक्त  गरेको छ ।साथै बैठकले साक्षात भगवानको रुपमा रहनु भएका  आम मतदाता ,  पार्टीका सम्पूर्ण नेता , कार्यकर्ता , सुभेच्छुक तथा  शुभचिन्तक ;  निर्वाचन  सम्पन्न  गराउन  अहोरात्र खट्नुहुने राष्ट्रसेवक  कर्मचारी ; सुरक्षाकर्मी ; शिक्षक  ; नागरिक  समाज र सन्चारकर्मीज्युहरुप्रति हार्दिक  आभार एवं  कृतज्ञता  व्यक्त गरेको छ । 

बैठकले स्थानीय निर्वाचनमा घाइते हुनुभएका पार्टीका नेता ,  कार्यकर्ता , शुभेच्छुक र शुभचिन्तकहरुको शीघ्र स्वास्थ्यलाभको  कामना गर्दै  पीडकहरुमाथि  तत्काल  कार्वाही प्रक्रिया अघि  बढाउन सम्बद्ध सरोकारवाला निकायहरु समक्ष  जोडदार  माग  समेत  गरेको  छ ।
 

बैठकले अध्यक्ष कमरेड राम बहादुर  चौहानद्वारा प्रस्तुत  आगामी संघ  र प्रदेशको निर्वाचनमा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीति ,  संगठन निर्माण , बिस्तार र सुदृढीकरण सम्बन्धि एक महिने  कार्ययोजना सर्वसम्मत  ढङ्गले  पारित गरेको छ ।सरकारद्वारा हालै गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण दैनिक जीवनका  हरेक क्षेत्रमा  महँगी आकाशिएकोले तत्काल मुल्यवृद्धी  फिर्ता  लिई जनजीवनलाई सहज तुल्याउन  बैठकले नेपाल सरकार  समक्ष  जोडदार  माग समेत  गरेको छ ।

बैठकमा पार्टी  केन्द्रिय कमिटीका सदस्य एवम् जिल्ला इन्चार्ज कमरेड  पिताम्बर भुसाल , केन्द्रिय सदस्य  एवं  जिल्ला सह - इन्चार्जद्वय क. पिताम्बर सारु र क. यमुना भुसाल , प्रदेश कमिटीका सदस्यद्वय क . सुनिता बेल्बासे र तारापती भट्टराई ,  जिल्ला कमिटीका उपाध्यक्षद्वय क. सिद्धी प्रसाद  भुसाल र क. सुमित्रा मुखिया , जिल्ला  कमिटीका सचिब  क. युबराज  पौडेल , उपसचिवद्वय क. हृदय कुमार भुसाल  र क . नारायण शर्मा , कार्यालय  सचिव  क. नारायण  भुसाल  साथै पार्टीको तर्फबाट स्थानीय  निर्वाचनमा  बिजेता  तथा  उपविजेता सम्पूर्ण कमरेडहरुले आ- आफ्ना गहन विचारहरु प्रस्तुत गर्नुभएको  थियो ।

प्रतिक्रिया दिनुहोस्