घुम्नै पर्ने ठाँउ,अर्घाखाँचीको वाङ्गलामा रहेको वैकुण्ठपुरी संग्राहलय ( भिडियो सहित)

| २०७९ सावन २ गते १९: ३४ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची ।नविनतम र रचनात्मक सोचले काम गर्ने हो भने धेरै केही गर्नु पर्दै भन्ने उदाहरण बनेको छ वैकुण्ठपुरी । गाँउघरका सम्पत्ती तथा सामाग्रीहरुलाई कौडीको भाउँमा मिल्लकाएर बजारमा केही हात जग्गा र बाकस घरमा सिमित जीवन व्यतित गरेका हामीहरुलाई वास्तवमै मनमोहक बनाउँछ वैकुण्ठपुरीले । सन्धिखर्क नगरपालिका वार्ड नं ५ वाङ्गला स्थित वैकुण्ठपुरी अहिले सबैको घुम्ने र मन वहकाउने स्थल बनेको छ । वीदाको दिन होओस वा अन्य कुनै दिन त्यहाँ भिड भाड नभएको कुनै दिन छैन । मेला पर्व तथा अन्य वीदाको दिन त्यहाँ आउने, घुम्ने, नाँच्ने, गाँउने र टिकटक बनाउनेको भिड लाग्ने गर्दछ । त्यसका प्रवर्तक हुन ३० वर्ष पहाडी जिल्ला अर्घाखाँचीमा बसेर पत्रकारीता गरेका जेष्ठ नागरिक नीम बहादुर रिजाल ।

वैकुण्ठपुरी संग्रालयबाट शुरु भएको भएता पनि अहिले पर्यटकीय स्थल बनेको छ । हाम्रा दैनिक जीवनमा परापूर्वकालमा प्रयोग हुने घरेलु तथा व्यवसायिक सामाग्रीहरुको संग्रह गरेर नयाँ पुस्तालाई बताउने र सिकाउने संग्राहलय बनेको छ । अहिले हाम्रो जनजीवन अत्याधुनिक भएको छ । हाम्रा बालबच्चाहरु खेतीपाती, बाली, अन्न, दुध दही आदी कहाँबाट आउछ भनेर सोध्ने हो भने पसल र डेरी भन्ने उत्तर मात्र विकल्प भएको छ ।मोबाईल र डिजिटल ग्याजेट नै सबैथोक हो भन्नेहरुलाई ईतिहास र जीवन सिकाउने सामग्री अवलोकन गर्ने थलो वैकुण्ठपुरीले आन्तरीक पर्यटनलाई केही हदसम्म प्रवर्द्धन गरेको छ । हाम्रा पुर्खाहरुले अहिले प्रयोग हुने अत्याधुनिक सामाग्रीहरुको तत्कालिन अवस्थामा कसरी प्रयोगमा ल्याईन्थ्यो, त्यसको जटिलता, उपयोगिता, सामाजिक सदभाव, सामुहिक क्रियाकलापमा संलग्नता आदीको बारेमा स्पष्ट ज्ञान पाउन सकिन्छ । बढो मिहनेतकासाथ संकलन गरेका ती सामाग्रीहरुको अवलोकन गर्दा हाम्रा पुर्खाहरुको मेहेनत र परिश्रम तथा आविस्कारलाई सलुट गर्न मन लाग्छ । अहिले भएका सबै घरेलु सामाग्रीहरुको जननी नै ती पूराना सामान हुन ।

मानो, पाथी, तेल पेल्ने कोल, जाँतो, ढिकी, जुवा, हलो, जोतारा, ठेकी, मदानी, ओदान, भोटे ताल्चा, चौठी, सेउ, एकतारे, डम्फु, मादल, चौठो, सोली, डाला, भकारी, ढडिया, बाँण, गुलेली, घगेत्रो, फुँगो, हुँका, चिलिम, सुल्फा, हर्पे, मदुस, क्यासेट, टुँकी, ढेब्री, पैनी, पुराना क्यमेरा, बाटो तथा चौतारोमा राख्ने धर्मशाला लगायत करिव २ प्रकारका परम्परागत तथा पूराना घरायसी कामकाजमा प्रयोग हुने सामाग्रीहरुलाई संकलन गरेर प्रदर्शन गरी नयाँ पुस्तालाई ईतिहास बताउने माध्यम बनेको छ वैकुण्ठपूरी ।

यस्तो नविनतम सोचलाई प्रयोगमा ल्याएर आन्तरिक पर्यटकीय स्थल बनाउने नीम बहादुर रिजालको दैनिकी बनेको छ त्यहाँ आउने पर्यटक तथा अनुसन्धानकर्ताहरुलाई संकलन गरेका सामाग्रीहरुको बारेमा बताएर । पहिले सामाग्रीहरुलाई माध्यम बनाएर बनाईएको वैकुण्ठपुरी अहिले मनमोहक बनेको छ । त्यहाँ, झुला, पिङ्ग, ट्री हाउस, स्विमङ्ग पुल, अम्रेला रोड, सेल्फी क्षेत्र, मन्दिर, मुर्ती, माछा तथा कमल पोखरी लगायतका विभिन्न आकर्षक स्थल निर्माण गरेकोले पनि आकर्षकको केन्द्र बनेको छ । ३ जना बाहिरी कर्मचारी र आफू र श्रीमती गर ५ जनालाई एक छिन पनि फुर्सद नहुने खटिनु पर्ने बताउँदै यसलाई अझ व्यवस्थित गरेर यहाँ ध्यान केन्द्र, होम स्टे र परम्परागत ८ सुरे घर र केही कटेज निर्माण गर्ने बताए ।

संस्कृति र प्रकृति हाम्रा जननी र रक्षक हुन । यीनको बचाउ गर्नु हामी सबैको कर्तव्य हो भन्ने मान्यताका साथ पूराना सामाग्री खोजी गरेर संग्राहलय बनाउने सोच आएको बताउने नीम बहादुर रिजाललाई पहिले छिमेकीहरुले कवाडि समेत भन्थे तर अहिले उहाँहरु नै टिकट काटेर अवलोकन गर्न आँउदा खुशी लाग्छ रे । हुन पनि अहिले हाम्रोमा परापुर्वकालमा हाम्रा पूर्वजहरुले प्रयोग गरेका घरायसी सामाग्रीहरुलाई प्लाष्टिक अन्य धातुले बनेका सामाग्रीहरुले प्रतिस्थापन गरेको छ । यी प्रतिस्थापित सामाग्रीहरु कस्ता थिए, कसरी प्रयोग गरिन्थे, कती सजिला थिए, यीनको वैदीक, धार्मिक र स्वास्थ्यको हिसाबले कत्तिको उपयुक्त थिए आदीकुराहरु अवलोकन पछि जानकार हुन सकिन्छ ।

त्यती मात्र होईन त्यहाँ परम्परागत तथा जातीगत भेषभुषा झल्किने पोशाक, धार्मिक तथा वैदिक कार्यमा प्रयोग हुने सामाग्रीहरु, मूर्ती, बाजा गाजा लगायत विभिन्न सामाग्रीको संकलन तथा संयोजनले धेरै आकर्षक बनेको छ ।

आफ्नो नीजि सम्पत्ति करिव ४ रोपनी जेष्ठ नागरिक संघको नाममा राजिनामा गरि संग्राहलय स्थापन गर्ने नीम बहादुर रिजाल र उहाँको परिवारलाई हालसम्म कुनै पनि सरकारी निकाय, संघ, संगठनबाट यसको प्रवर्द्धन र संरक्षणमा सहयोग नभएको बताए । भएका जग्गा जमीन, सम्पत्ती र सामाग्रीहरु सिन्कीको भाँउमा मिल्लकाएर बजार तथा शहरमा बसोबास गर्नेहरु नै अहिले घुम्न आउने गर्दछन । सोच बिचार र लगाव हुने हो भने हामीले प्रयोग गरेर फालेका सामाग्रीहरुले धेरै कुरा बताउन र सिकाउन सक्ने त्यहाँ गएर बुझ्न सकिन्छ ।सन्धिखर्क मुख्य बजारबाट करिब २० मिनेटमा पक्की र थोरै कच्ची सडकको माध्यमबाट पुग्न सकिने वैकुण्ठपुरी एक पटक पुग्नै पर्ने स्थल बनेको छ । संस्कृति र परम्परा जगेर्ना गर्दै ईतिहासलाई बचाउन आफ्नो निजी सम्पत्ति संस्थालाई सुम्पने रिजाल परिवारको उत्साहलाई सम्बद्ध सबैबाट सहयोग, सदभाव र समन्वयको आवश्यकता छ । परम्परागत सामाग्रीहरु हेर्ने र रमाउने सामाग्रीमात्र नभएर अन्वेषण र आविस्कारका माध्यम पनि हुन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्