चाडपर्व नेपाली संस्कृतिका धरोहर हुन्: प्रमुख श्रेष्ठ

| २०७९ भदौ ३ गते २०: ३३ मा प्रकाशित

शोभाखर पन्थी,अर्घाखाँची। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले हाम्रा चाडपर्व नेपाली  संस्कृतिका धरोहर भएको बताउनुभएको छ । 

साना किसान कृषि सहकारी संस्था लिमिटेड सनपा-७ खाँचीकोट द्वारा सन्धिखर्कमा आयोजित अन्तर समुह तीज गीत प्रतियोगिताको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले नेपाली कला , संस्कृति संसारमै उत्कृष्ट भएको भन्दै यसको संरक्षण र सम्बर्द्धनमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । 

 तडक भडक र अनावश्यक खर्च कटौतीगरी सामाजिक र पारिवारिक वातावरणमा हर्षोल्लासमय रुपमा चाडपर्व मनाउनु पर्नेमा उहाँको जोड थियो । नगरप्रमुख श्रेष्ठले अब तीजमा महिला अधिकार ,महिला सशक्तीकरण ,समाजिक न्याय,अग्रगमनका अतिरिक्त बिकास र समृद्धिका गित गाउनु पर्ने बताउनुभयो।

 उहाँले सन्धिखर्कलाई नमुना नगर वनाउने गरी योजना बनाएको भन्दै आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउन नगरवासीलाई आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले तीज महिला सशक्तीकरणको बलियो आधार भएको बताउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक ,सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको उहाँको भनाइ थियो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण कँडेलको अध्यक्षता र बरिष्ठ पत्रकार  सहयोगी बि.सी.  को संचालनमा सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष पद्मलोचन आचार्य ,सहकारीका प्रबन्धक विष्णुप्रसाद मरासिनी  लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ठुलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । 

कार्यक्रममा अन्तर समुह नं.-७ डिही प्रथम ,अन्तर समुह  नं.-५ डिहीडांडा द्धितीय,अन्तर समुह नं.-१० छापडांडा तृतीय र अन्तर समुह नं.-४  सानागाउँ सान्त्वना भएका छन् ।विजयी समुहलाई नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्