दुई तिहाई शैक्षिकसत्र सकियो,विद्यार्थीले गणित पढ्न पाएनन्

| २०७९ पौष ७ गते १६: २५ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्क बाट सडक दुरिका हिसाबले झण्डै ४/५ किलोमीटर टाढा पुर्वउत्तरमा सन्धिखर्क नगरपालिका वडा नं. ३ मा रहेको श्री बराहनेटा आधारभूत विद्यालयको कक्षा ७ मा शैक्षिकसत्र २०७९ सुरु भएदेखि गणित विषयको शिक्षण हुन सकेको छैन। 

स्थानीय सरकारको विभेद,विद्यालय व्यवस्थापन समितिको गैरजिम्मेवारी पुर्ण कार्यशैली र विद्यालय प्रशासकको चरम लापरबाहीका कारण कक्षा ७ मा अध्ययनरत २३ जना विद्यार्थीहरुले गणित विषय पढ्न पाएका छैनन्। नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ मा शिक्षा सम्बन्धि हक र भाग ३ कै धारा ३९ मा बालबालिकाको हक को सम्बन्धमा स्पष्ट उल्लेख गरिएको छ यद्यपि बराहनेटामा अध्ययनरत २३ जना बालबालिका भने आफ्नो मौलिक हक र अधिकार बाट वञ्चित छन्।विद्यार्थी हितलाई सर्वोपरिमा राखी राज्यले गरेको लगानी बराहनेटा आ.वि को सन्दर्भमा बालुवामा पानी खन्नाए जस्तै भएको छ। यस विद्यालयमा शैक्षिकसत्र २०७९ मा कक्षा ०-८ मा कुल १४८ जना विद्यार्थी भर्ना भएका छन् भने नि.मा.वि तहमा राहत/अनुदानमा ३ जना र प्रा.वि तहमा स्थायी/अस्थायी/राहत ७ जना ,बालविकासमा १जना र विद्यालय कर्मचारी १ जना गरि कुल १२  जना शिक्षक कर्मचारी कार्यरत छन्। 

कक्षा ७ यो शैक्षिकसत्रमा सबैभन्दा बढी विद्यार्थी भर्ना भएको कक्षा पनि हो।यस विद्यालयमा स.न.पा ३ कै निवर्तमान वडा अध्यक्षको श्रीमती  सहायक प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्थ्यो र उहाँले मिति २०७९-०८-२९ देखि जागीर बाट राजीनामा दिनु भएको छ।पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्षको श्रीमती समेतले शिक्षकको रुपमा काम गर्ने विद्यालयको यस्तो गम्भीर अवस्थाको समाचार आजका मितिसम्म सार्वजनिक हुन नसक्नु र बालबालिकाहरुले सहि समयमै न्याय पाउन नसक्नु निकै दु:खद र भविष्यका लागि अति घातक छ।

यस वडामा ३ वटा सामुदायिक र १ वटा मदरसा गरि ४ वटा विद्यालयहरु राज्यको लगानी बाट संचालित छन।४ वटा विद्यालय मध्येको एक मदरसा काम चलाउ मात्र अवस्था छ र ०-३ संचालित श्री दुर्गा आधारभुत विद्यालय यसै शैक्षिकसत्र देखि १-३ पुर्ण रुपमा बन्द भइ सकेको छ भने श्री बराहनेटा आ.वि मा दुई तिहाई शैक्षिकसत्र सकिदा सम्म पनि कक्षा ७ का  विद्यार्थीले गणित विषय पढ्न पाएका छैनन्।शैक्षिक पक्षमा मात्र नभई विद्यालयका विविध पक्षमा भएको अनियमितता र अवैधानिक गतिविधिले विगत ३/४ वर्ष देखि ग्रसित बराहनेटा आ.वि वडा नं. ३ को अगुवा विद्यालय पनि हो। 

परिवारका आसा भरोसाका केन्द्र, समाजका कर्मठ पौरखी र देशका कर्णदार कलिला बालबालिकाहरुको सुनौलो भविष्य खतरामा परेको यस्तो विषम परिस्थितिमा बालबालिकाको मौलिक हक र अधिकारलाई सुनिश्चित गर्न राजनैतिक आवद्धतालाई केही छिनका लागि छाडेर बालबालिका हितका खातिर खोजमुलक र जनसेवामुखी पत्रकारिता गरि यस्तो अवस्था सिर्जना हुनुको सत्यतथ्य पत्ता लगाई वास्तविकता सार्वजनिक गरि पढाई नहुने अवस्था सिर्जना गर्ने/गराउने सबैलाई कानुनी दायरामा ल्याई कारवाहीको लागि जोडदार रुपमा आवाज उठाइ अन्यायमा परेका निर्दोष  बालबालिकालाई समयमै न्याय दिलाउने कार्यमा सरिक भइ पुण्य कमाउनु हुन हार्दिक अनुरोध गर्दछु।गुणस्तरीय र समयानुकूल शिक्षा बाललालिकाको नैसर्गिक अधिकार हो। कोहि पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस्।जय शिक्षा।

प्रतिक्रिया दिनुहोस्