हार्ट फाउन्डेशनले अर्घामा आयोजना गरेको मुटु सम्बन्धि स्वास्थ्य शिविरमा २ सय ८९ जनाले गराए स्वास्थ्य परिक्षण

| २०७९ चैत १२ गते २१: ५७ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
चैत्र–१२,अर्घाखाँची- अर्घाखाँचीको अर्घामा एक दिने मुटु सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । सन्धिखर्क–१० धरम्पानीमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर सुमन्त बन्जाडेसंग आफ्नो स्वास्थ्य परिक्षण गराई नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले शिविरको उद्घाटन गर्नुभएको हो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान अर्घाखाँची शाखाको आयोजना र सन्धिखर्क नगरपालिकाको आंशिक सहयोगमा शुक्रबार सम्पन्न शिविरमा ४० देखि ७० बर्ष उमेर समुहका २ सय ८९ जनाले स्वास्थ्य परिक्षण गराइ लाभ लिएका छन् । 

जसमध्ये ६० जनाले इको जाँच र ७७ जनाले इसिजी जाँच गराएको आयोजक संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको  छ । शिविरमा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीले समेत  बिरामीको स्वास्थ जाच गर्नुभएको थियो । यसैबीच सोही अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँची शाखाले जिल्ला अस्पताल अर्घाखाँचीलाई एक थान ह्विल चियर प्रदान गरेको छ । शिविरको उद्घाटन शत्रमा प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद भुसालले डाक्टर तिवारीलाई उक्त ह्विल चियर हस्तान्तरण गर्नुभएको हो ।

 ह्विल चियर हस्तान्तरण 

बुटवल तथा काठमाडौंमा गइ मुटुको उपचार पश्चात औषधि सेवन गरिहरका तर आर्थिक अभावले फ्लोअपमा जान नपाएका तथा उपचार गर्नबाटै बन्चित भएकाहरुलाई टेवा पुगोस् भन्ने हेतुले शिविरको आयोजना गरिएको अध्यक्ष भुसालको भनाई छ । शिविरमा सुगर, प्रेसर, हृदयघात भइ औषधि खाइरहेका बिरामी र सुगर–प्रेसर दुवै समस्या भएका गरि २ सय ८९ जनाको स्वास्थ्य परिक्षण गरिएको बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर सुमन्त बन्जाडेको भनाइ छ । पछिल्लो समय व्यस्त तथा शौखिन जीवनशैली,अस्वस्थ खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै डाक्टर बन्जाडेले चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा नखान सुझाव दिनुभएको छ । 

यसबाहेक मुटु स्वस्थ राख्न नियामित व्यायाम गर्न,आफूलाई अल्छी नबनाउन पनि उहाँको सुझाव छ । “व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, केमिकल जन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, प्रकृतीसंगको दुरीका कारण आज हामी सबैजना हृदयरोगको सम्भावित जोखिममा छौं ।” डाक्टर बन्जाडेले भन्नुभयो, “साना नानीहरुलाई मुटुलाई खराब गर्ने खानपान र रहनसहनबाट टाढै राख्नुपर्छ ।” कार्यक्रममा नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले हार्ट फाउन्डेशन अर्घाखाँचीले प्रंसनिय काम गर्दै आएको भन्दै सामाजिक हितको काममा नगरपालिकाले जहिलेपनि सहयोग गर्ने बचन दिनुभएको छ । 

शिविरको उद्घाटन शत्रमा सन्धिखर्क नगर उप–प्रमुख मिश्रा आचार्य, सन्धिखर्क–१० का अध्यक्ष मोहनसिंह ठकुरी, ८ का अध्यक्ष हुम प्रसाद बन्जाडे, ९  का अध्यक्ष पदम भुसाल, १० का निवर्तमान अध्यक्ष लक्ष्मि नारायण चुदाली, सन्धिखर्क स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली लगायतको उपस्थिति रहेको थियो । शरिरको प्रमुख अंग मुटु सुरक्षित रहेमात्रै ज्यान स्वस्थ रहने भन्दै सचेतना अभियान संगै स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै आइरहेको हार्ट फाउन्डेशन अर्घाखाँँचीले समय÷समयमा जिल्लाका बिभिन्न स्थानमा शिविर संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्