लायन्स क्लब अफ अर्घाखाँचीले गर्यो क्यान्सर पीडित प्रेम थापालाई आर्थिक सहयोग

| २०८१ जेठ ३० गते १४: ०६ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
जेठ–३०,अर्घाखाँची।लायन्स क्लब अफ अर्घाखाँचीले क्यान्सर पीडित सन्धिखर्क–१०, वेल्टारीका प्रेम थापालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष प्रकाशपरियारको जन्मोत्सवको अवसर पारेर क्यान्सरबाट पीडित थापाकै घरमा पुगेर क्लबले नगद ४३ हजार ९० रुपैयाँ हस्तान्तरण गरेको हो ।

विगत साढे २ वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित ४२ बर्षिया थापाको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा ५ हजार १ सय सहित अन्य क्लवमा आवद्ध साथिहरुबाट संकलित ४३ हजार ९० रुपैंया प्रदान गरिएको क्लबका अध्यक्ष परियारले जानकारी दिनुभएको छ ।लायन्स क्लब अर्घाखाँचीको तर्फबाट संस्थापक अध्यक्ष हरी प्रसाद भुसाल, निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भुसाल, बर्ष २०२४÷०२५ का अध्यक्ष प्रेम थापा, उपाध्यक्ष मिरा के.सी.सेजवाल, बर्ष २०२४÷०२५ का कोषाध्यक्ष मिना बस्याल भट्टराई, सह–सचिव नवराज बन्जाडे, डाइरेक्टर मोहनसिंह ठकुरी, सदस्य दुर्गा वि.क., दामोदर के.सी., लेखनाथ भुसाल लगायतको टोलीले उक्त रकम हस्तान्तरण गरेको क्लबका सचिव प्रदिप आचार्यले बताउनुभएको छ । 

सन्धिखर्कमा इलेक्ट्रिक व्यवसाय गर्दै आउनुभएका प्रेम थापा साढे २ वर्ष अघि फोक्सोको क्यान्सरबाट ग्रसित भएपछि उहाँको उपचारका लाखौं धनराशी खर्च भइसकेको छ ।

 भएको धनसम्पत्ति उपचारमा खर्च भएपछि अहिले उहाँको उपचारमा समेत आर्थिक समस्या उत्पन्न भएको छ । उपचारका लागि सबैले सहयोग गरेर आफुलाई बचाइदिन पिडित थापाले सार्वजनिक रुपमा अपिल गर्नुभएको छ । थापाको २ छोरी, साढे दुइ बर्षिय एक छोरा र श्रीमती हुनुहुन्छ । 

अहिले आर्थिक अभावमा नियमित उपचार समेत प्रभावित भएको र आफु तलमाथि भए परिवारको विचल्ली हुने भन्दै पिडित प्रेमले आफ्नो ज्यान बचाइदिन सबैसंग याचना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्