भलिबलकाे प्रशिक्षणमा पुलिसले पठाएन तीन खेलाडी

| २०७८ असार ९ गते १६: ०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणमा विभागीय टिम पुलिस क्लबले आफ्ना तीन खेलाडीलाई पठाउन नसकिने बताएको छ ।

नेपाल एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा छ ।

पुलिस क्लबले राष्ट्रिय टिमकी खेलाडी पुनम चन्द सहित कामना विष्ट र शान्तिकला तामाङलाई बन्द प्रशिक्षणमा पठाउन नसकिने बताएको हो ।

तीन जना खेलाडी जवान आधारभूत तालिममा रहेको उल्लेख गर्दै पुलिसले तालिम अन्तिम चरणमा रहेकाले प्रशिक्षणमा पठाउन नसकिने बताएको हो ।

‘तीन जना प्रहरी जवान आधारभूत तालिममा रहेको र हाल सो तालिम अन्तिम चरणमा रहेकाले नीजलाई प्रशिक्षणमा पठाउन नसकिने र बाँकी भलिबल खेलाडीलाई प्रशिक्षणमा खटाई पठाएको ब्यहोरा अनुरोध छ ।’ पुलिसले नेपाल भलिबल संघलाई पठाएको पत्रमा भनिएको छ ।

नेपालले पहिलो पटक एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने तयारी गरेको छ । प्रतियोगिताका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत सुरु गरेको छ । नेपाल भलिबल संघले प्रारम्भिक टोलीमा परेका खेलाडीलाई आवसीय सुविधा सहित बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।

गत वर्ष चैतमा सम्पन्न एनभीए क्लब लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका आधारमा भलिबल संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

पुलिसबाट पुनम, कामना र शान्तिकला सहित उषा भण्डारी, कमला पुन, मनिषा चौधरी र लक्ष्मी चन्द परेका थिए ।

प्रारम्भिक टोलीमा परेका बाँकी २७ जना खेलाडी प्रशिक्षणमा सामेल भएपनि पुलिसबाट पुनम, कामना र शान्तिकला अनुपस्थित छन् ।

पुलिसले आधारभूत तालिमको कारण देखाउँदै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन खेलाडीलाई रोकेको छ ।

पुनम पछिल्लो समय राष्ट्रिय महिला टिमकी सदस्य छिन् । उनी बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपदेखि राष्ट्रिय टिममा समावेश छिन् ।

शान्तिकलाले क्लब च्याम्पियनसिपमा उत्कृष्ट लिब्रोको रुपमा आफुलाई प्रस्तुत गरेपछि बन्द प्रशिक्षणमा अटाएकी हुन् । उनलाई राष्ट्रिय टिमको महत्वपूर्ण सदस्यको रुपमा हेरिएको छ । पछिल्लो समय प्रारम्भिक टोलीमा परेपनि उनले राष्ट्रिय टिममा स्थान बनाउन सकेकी थिईनन् ।

कामना चोट मुक्त हुँदै मैदान फर्किएकी खेलाडी हुन् । उदयीमानी महिला भलिबल खेलाडीको रुपमा उदाएकी उनी चोटका कारण पछिल्लो एक वर्षभन्दा बढी मैदान बाहिर रहेकी थिईन् । क्लब लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका आधारमा उनलाई राष्ट्रिय टिमको प्रारम्भिक टोलीमा समावेश गरिएको थियो ।

नेपाल भलिबल संघका सचिव मनवीर छत्यालले तीन जना खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न प्रयास भईरहेको खेलपाटीलाई बताए ।

‘प्रशिक्षणका लागि भन्दै फेरि दोस्रो पत्र पठाएका छौं । खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने अधिकतम कोशिस जारी छ ।’ उनले भने, ‘प्रहरीको नेतृत्वसंग थप यस विषयमा आग्रह गर्ने तयारी गरेका छौं ।’

एसियन सिनियर महिला च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा आयोजना हुँदैछ । नेपालको महिला टिमले पहिलो पटक एसियन च्याम्पियनसिपमा उपस्थिती जनाउने लक्ष्य राखेको छ ।

एभीसी सेन्ट्रल जोनमा प्राप्त ऐतिहासिक स्वर्ण पदक र साग खेलकुदको ऐतिहासिक रजत पदकपछि महिला भलिबलले अन्तराष्ट्रिय रुपमा आफुलाई अघि बढाउन प्रयास गरिरहेको छ ।

एसियन च्याम्पियनसिप यसअघि चीनमा आयोजना हुने तय थियो । तर चीनले आयोजनाबाट हात झिकेपछि प्रतियोगिता फिलिपिन्स सरेको हो । एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट ७ देशले नाम फिर्ता लिएका छन् । अब प्रतियोगिता खेल्न १२ राष्ट्रले नाम पक्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्