डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश

| २०७८ असार २४ गते १५: २५ मा प्रकाशित

एजेन्सी – डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा विजयी गोल गर्दै इंग्ल्यान्डलाई उपाधिनजिक पुर्याएका हुन् ।

खेलको पहिलो हाफमा इंग्ल्यान्डले बलियो सुरुवात गरेपनि अग्रता भने डेनमार्कले लिएको थियो । फ्रिकिकमा मिकेल डाम्सगार्डको सुन्दर गोलमा अघि बढेको डेनमार्कको अग्रता ९ मिनेट टिकेन । इंग्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको थियो ।

दोस्रो हाफमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा इंग्ल्यान्डले पेनाल्टी प्राप्त गरेपछि कप्तान केनले उक्त अवसरको सदुपयोग गरेका थिए । उनको पहिलो प्रहार गोलरक्षकले विफल पारेपनि रिबाउन्डमा गोल गर्न सफल रहेका थिए । अब आइतबार हुने फाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ ।

खेलको १२ औं मिनेटमा स्टर्लिङकै प्रहार सिधै गोलरक्षक स्माइकलको हातमा पुग्यो । त्यसअघि ह्यारी केनले दायाँ विंगबाट दिएको क्रसमा स्टर्लिङ केहि ढिला पुग्दा इंग्ल्यान्डले अघि बढ्ने अवसर गुमाएको थियो । १६ औं मिनेटमा डेनमार्कका पिएर एमिल होएबिएरको प्रहारलाई गोलरक्षक जोर्डन पिकफर्डले सहजै बचाए ।

२५ औं मिनेटमा इंग्ल्यान्डको डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै मिकेल डाम्सगार्डले गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । त्यसको ५ मिनेटपछि डाम्सगार्डकै गोलमा डेनमार्कले अग्रता लियो । उनले झन्डै २५ यार्ड टाढाबाट प्राप्त फ्रिकिकलाई सुन्दर गोलमा परिणत गर्दै टोलीलाई अघि बढाएका थिए ।

३७ औं मिनेटमा गोलरक्षक स्माइकलले उत्कृष्ट बचाउ गर्दै डेनमार्कको अग्रता जीवित राखे । केनको क्रसमा स्टर्लिङको ६ यार्ड बक्स नजिकको प्रहारलाई उनले विफल पारेका थिए । तर त्यस लगत्तै आक्रमणमा इंग्ल्यान्ड बराबरी गोल फर्काउन सफल भयो । केनले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्रभित्र बुकायो साकालाई खेलाएपछि उनको क्रसमा गोल भएको थियो । साकाको क्रस स्टर्लिङलाई लक्षित रहेपनि कप्तान सिमोन केयरले त्यसअघि नै ट्याकल गर्ने क्रममा बल आफ्नै पोस्टमा छिरेको थियो ।

दोस्रो हाफको ५५ औं मिनेटमा माउन्टको फ्फ्रिकिकमा ह्यारी मगाएरको हेडरलाई गोलरक्षक स्माइकलले दायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । ५९ औं मिनेटमा डोलबर्गको पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारलाई पिकफर्डले जोगाए । ६३ औं मिनेटमा माउन्टको फितलो प्रहारले स्माइकललाई खासै समस्या दिन सकेन ।

८३ औं मिनेटमा जोन स्टोन्सको हेडरले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयको तेस्रो मिनेटमा काल्भिन फिलिप्सले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । अन्तिम समयमा ज्याक ग्रिलिसको लो क्रसमा केनको प्रहार सटिक हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको तेस्रो मिनेटमा केनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारलाई स्माइकलले विफल पारे । रिबाउन्डलाई जोआकिम एन्डरसनले क्लियर गर्दै खतरा टारेका थिए । ९७ औं मिनेटमा ग्रिलिसको शक्तिशाली प्रहारलाई स्माइकलले विफल पारेपछि रिबाउन्डमा बुनेको मुभलाई स्टर्लिङले सदुपयोग गर्न सकेनन् ।

१ सय ४ औं मिनेटमा महेलले स्टर्लिङलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । कप्तान केनको पेनाल्टी प्रहारलाई स्माइकलले विफल पारेपनि रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।

प्रतिक्रिया दिनुहोस्