अर्घाखाँचीका कमल श्रेष्ठले जिते कोरियन एम्बेसडर भर्चुअल पुम्से तेक्वान्दोमा स्वर्ण पदक

| २०७८ भदौ १८ गते २१: १३ मा प्रकाशित

काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १०औं कोरियन एम्बेसडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

पुरुष १८-३५ वर्ष उमेरसमूहमा नेपाल प्रहरीका अर्घाखाँची को डिभर्ना घर भएका कमल श्रेष्ठले ७.७३ अंक जोडे । ७.३९ अंकसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३० अंकसाथ प्रहरीकै जितबहादुर बोट र ७.१० अंकसाथ नेपाल आर्मीका कृष्णबहादुर तामाङ तेश्रो भए ।

१३ औं सागमा प्रेम र जित कांस्य तथा कृष्ण रजत विजेता हुन् । यो स्पर्धामा १३ औं सागका कांस्यधारी शिशिर श्रेष्ठ र अश्विन रावतले पनि प्रतिस्पर्धा गरेका थिए ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष यू–११ मा एब्सुलुट डोजाङका सुभन गुरुङ पहिलो, एब्सुलुटका एरिक राणा दोश्रो तथा एब्सुलुटका अपिल गुरुङ र स्युचाटारका अनिश श्रेष्ठ तेश्रो बने । उक्त स्पर्धाको महिलामा एब्सुलुटकी गुनमाया गुरुङले स्वर्ण, जैसिदेवलकी मुबिक्क्षा गजुरेलले रजत तथा अल्फाकी एरिता पुन र गोदावरीकी सनन्दा घिमिरेले कांस्य जिते ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । उक्त अवसरमा राजदूत सुकले पदक विजेतालाई पुरस्कार स्वरुप प्रदान गरिने तेक्वान्दो सामाग्री तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणालाई हस्तान्तरण गरेका थिए ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनबाट सञ्चालित तीनदिने प्रतियोगितामा ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडी गरी जम्मा ५ सय ९३ खेलाडीको सहभागिता रहेको आयोजक तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक भानु चन्दले जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत व्यक्तिगतको पुरुष/महिलामा ६–६ गरी १२, पेयर र टिममा ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।

यसै प्रतियोगिताबाट दक्षिण कोरियाले आयोजना गर्ने कोरियन एम्बासडर भर्चुअल पुम्से विश्व च्याम्पियनसिपका लागि नेपालबाट सहभागी हुन १६ खेलाडीको छनोट गरिने छ । कोरियन एम्बासडर भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रमा पनि भइरहेको तेक्वान्दो संघले जनाएको छ ।रोट - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्