नेपाल भारतसँग फेरि पराजित

| २०७८ भदौ २० गते १९: ४४ मा प्रकाशित

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलमा नेपालमाथि भारतको प्रभुत्व आइतबार पनि कायम रह्यो । दशरथ रंगशालामा भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारत २–१ ले विजयी रहेको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा त्यसलाई दोहोर्‍याउन सकेन । नेपाली खेलाडीमा निरन्तर समान प्रदर्शनको कमी देखियो ।

भारतसँग नेपाल पराजित भएको यो १५ औं पटक हो । भारतले नेपाललाई दशरथ रंगशालामा हराएको भने यो दोस्रो पटक हो । नेपालले सन् २०१३ यता भारतलाई हराउन सकेको छैन । भारतले पहिलो गोल ६२ औं मिनेटमा गरेको थियो । नेपालले खेलाडी सब्टिच्युसनका क्रममा एकाग्रता गुमाएपछि फाहरुख हाजी कासम चौधरीले सजिलै गोल गरेका थिए ।

यो भारतले पूरा खेल अवधिमा सिर्जना गरेको पहिलो अवसर थियो र यसमै गोल गर्न सफल रह्यो । फाहरुखले गोल गर्दा उनी पूर्णत: 'अनमार्क्ड' थिए । दोस्रो गोल भने ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरे । उनले थ्रु–बलमा प्राप्त बल अगाडि बढाएर नेपाली गोलरक्षक किरण चेम्जोङलाई सजिलै बिट गर्दै गोल गरे ।

दोस्रो हाफमा नेपालले तीन अवसर सिर्जना गरे पनि त्यसमा निर्णायक सावित भएन । तर ८६ औं मिनेटमा तेज तामाङले एक गोल फर्काए । तेजले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गरेका थिए । नेपालका लागि उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । यो गोलपछि खेलमा रोमाञ्चकता भने छाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । त्यसमा नेपालले दुई स्पष्ट मौका सिर्जना गरेको थियो । खेलको १३ औं मिनेटमा मनीष डांगीले पेनाल्टी एरियामा राम्रो अवसर पाएका थिए । भारतीय गोलरक्षक अमरिन्दर सिंह आफ्नो स्वभाविक ‘पोसिजन’ मा नहुँदा मनीष आफैं अनियन्त्रित भए । यस्तोमा उनी बललाई पोस्टको दिशा दिन असफलरहे ।

यस्तै २८ औं मिनेटमा आयुष घलानले निकालेको एयर बल पासमा आशिष लामाले त्यसलाई नियन्त्रणमा लिन सकेनन् र अवसर खेर गएको थियो । पहिलो हाफको अन्त्यतिर भारतको खेलले केही गति लिए पनि टिमको प्रदर्शन उसको प्रतिष्ठा अनुसार रहेन् । भारतले पहिलो हाफमा कुनै उल्लेखनीय अवसर सिर्जना गर्न सकेन ।

यस खेलसँगै नेपालका लागि कप्तान तथा गोलरक्षक किरणले सर्वाधिक खेल खेलेको कीर्तिमान राखेका छन् । उनले यसका लागि पूर्व कप्तान विराज महर्जनलाई उछिनेका हुन् । किरणले नेपालका लागि ७४ औं क्याप जिते । विराजले नेपालका लागि ७३ पल्ट खेलेका छन् । किरणलाई दोस्रो हाफमा विशाल श्रेष्ठले सब्टिच्युट गरे र यसक्रममा उनले नेपालका लागि डेब्युको अवसर पाए ।source- kantipur 

प्रतिक्रिया दिनुहोस्