भारतको लगातार दोस्रो हार

| २०७८ कार्तिक १४ गते २२: ५६ मा प्रकाशित

टी–२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत आइतबार राति भएको खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । भारतले प्रस्तुत गरेको १ सय ११ रनको झिनो लक्ष्य न्युजिल्याण्डले मात्र १४.३ ओभरमा दुई विकेटको क्षतिमा पछ्यायो ।

न्युजिल्याण्डलाई जीत दिलाउन डार्यल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए । ३५ बलमा उनले ४ चौका र ३ छक्का हिर्काए । कप्तान केन विलियमसनले ३३ रन बनाए भने ओपनर मार्टिन गुप्टिलले २० रनको योगदान दिए । भारतका लागि दुवै विकेट जसप्रित बुमराहले लिए ।

यसअघि न्युजिल्याण्डको घातक बलिङसामु भारत निरिह देखिएको थियो । भारतका ब्याट्सम्यानहरुले खुलेर खेल्नै सकेनन् । भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११० रन मात्र बनाउन सक्यो । रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए भने हार्दिक पाण्डेयले २३ रनको योगदान दिए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ तथा इस सोधीले २ विकेट लिए । जीतसँगै न्युजिल्याण्ड अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने भारत पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्