मेस्सिको जादुमय गोलमा मेक्सिकोलाई हराउदै अर्जेन्टिना बिजयी

| २०७९ मंसिर ११ गते ०२: ५४ मा प्रकाशित

अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई पराजित गरेको छ । दोस्रो हाफमा कप्तान लिओनेल मेस्सी र एन्जो फर्नान्डेजले गरेको गोलमा अर्जेन्टिनाले २-० को जित हासिल गरेको हो ।लुसेल रंगशालामा भएको पहिलो हाफमा अर्जेन्टिनाले सोचेजस्तो प्रदर्शन गर्न सकेन ।

मेक्सिकोविरुद्ध काउन्टर अट्याककै भरमा रहेको अर्जेन्टिनाले डिफेन्समा पनि दबाब खेप्नुपरेको थियो । दोस्रो हाफमा भने मिडफिल्ड र विंगब्याकमा परिवर्तनपछि अर्जेन्टिना खेलमा फर्कियो । कप्तान मेस्सीले गोल गरेपछि संयमित प्रदर्शन गर्दै अघि बढेको अर्जेन्टिनाले अन्त्यतिर दोस्रो गोल थप्दै नकआउट चरण पुग्ने समीकरण आफ्नै पकडमा राखेको हो ।

अर्जेन्टिनाका लागि खेलको ६४ औं मिनेटमा मेस्सीले निर्णायक गोल गरेका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट मेस्सीले गरेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । गोलरक्षक गोलेर्मे ओचोआले सहि दिशामा डाइभ दिएपनि उनी बलसम्म पुग्न सकेनन् ।

मेक्सिको बराबरी गोलको खोजीमा लगातार आक्रमण गरिरहँदा अर्जेन्टिनाले ८७ औं मिनेटमा दोस्रो गोल थप्यो । बेन्चबाट मैदान पस्दै मिडफिल्ड चलायमान बनाएका एन्जो फर्नान्डेजले सुन्दर गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । उनले मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र लिएपछि डिफेन्डरलाई छक्याएर गरेको प्रहारलाई गोलरक्षक ओचोआले बचाउने कुनै अवसर पाएनन् ।

त्यसअघि समूह सी मै आज भएको खेलमा पोल्यान्डले साउदी अरेबियालाई पराजित गरेको थियो । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले एक गोल र एक असिस्टको योगदान दिएपछि पोल्यान्ड २-० ले विजयी भएको थियो ।यस नतिजाका बाबजुद अर्जेन्टिना समूह सी मा ३ अंकसहित तेस्रो स्थानमा छ ।

पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा रहँदा साउदी अरेबिया ३ अंक जोड्दै दोस्रोमा छ । अर्जेन्टिना र साउदीको समान अंक भएपनि पहिलो खेलको हारका कारण हेड टु हेडमा अर्जेन्टिना पछि परेको हो ।अर्जेन्टिनाले अब अन्तिम खेलमा जित हासिल गरे समूहबाट नकआउट चरण प्रवेश गर्नेछ ।

समूह विजेता वा उपविजेता बन्ने समूहको अर्को खेलको नतिजाले टुंगो लाग्नेछ । मेक्सिको र साउदी अरेबियाको खेलको नतिजाले नकआउट पुग्ने र समूह स्थान निर्धारणमा प्रत्यक्ष असर पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्