लुधियानामा आफूले काम गर्ने घरबाट करिब ४० लाख लुटेर नेपाली दम्पती फरार

| २०७८ असार २१ गते १७: ५५ मा प्रकाशित

काठमाडौं। भारतको लुधियानामा एक व्यापारीको घरमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली जोडीले त्यहाँको मोडल टाउनमा रहेको व्यापारीको घर लुटेर फरार भएका छन् । त्यहाँका वृद्ध दम्पती हरि सिंह (७९) र उनकी पत्नी कुरशरण कौरकहाँ काम गरेर बसेका ती नेपाली शनिबार राती लाखौंको नगद र बहुमूल्य वस्तुहरु लिएर फरार भएका हुन् । उनीहरुले लुटपाटको लागि आफ्ना २ सहयोगीहरु एक पुरुष र एक महिलालाई पनि बोलाएको बताइएको छ ।

दैनिक ट्रिब्युनका अनुसार लुटपाट गर्नुअघि उनीहरुले घरमा जडान गरिएको सीसीटिभी क्यामेरा स्विच अफ गरेका थिए । अनिल बहादुर र उनकी पत्नी सुस्मिताले घरको सीसीटिभी क्यामेरा अफ गरेको भए पनि छिमेकमा जडान गरिएका सीसीटिभी क्यामेरामा उनीहरु आफ्ना २ सहयोगीका साथमा शनिबार राती १२ बजे त्यहाँबाट भागेका देख्न सकिन्छ । बिहान घटनास्थलमा पुगेको पुलिसले वृद्ध दम्पती र उनीहरुका ४ घरेलु कामदारलाई अस्पताल लगेको थियो जहाँ उनीहरुको अवस्था स्थिर भएको बताइएको छ ।

यो घर उद्योगपछि गुरमित सिंहको हो जसको रामगढ नजिकै जस्सल फर्गिङस नामको कम्पनी छ । परिवारका अरु सबै घटनाका दिन देहरादून गएका थिए र घरमा वृद्ध दम्पती मात्र थिए । बिहान घरमा गुरुद्वाराका एक पुजारी पुग्दा घरमा सबैलाई बेहोस देखेपछि पुलिसलाई खबर गरेका थिए । पुलिसले लुटिएको नगद र बहुमूल्य सामान कति थियो भन्ने प्रस्ट बताएको छैन । अपुष्ट स्रोतका अनुसार उनीहरुले करिब ४० लाख लुटेर भागेका छन् ।

प्रतिक्रिया दिनुहोस्