युएइको नेष्टो कम्पनीद्वारा अर्घाखाँचीका मृतक शुसिल परियारको परिवारलाई ४ लाखभन्दा बढी सहयोग

| २०७८ असार २८ गते ०१: १२ मा प्रकाशित

दुबई। यूएईको नेष्टो ग्रुप अफ कम्पनीले आफ्नो कम्पनीमा कार्यरत रहेको अवस्थामा हृदयघात भई मृत्यु भएका एक नेपाली कामदारको आश्रित परिवारलाई ४ लाख ११ हजार रुपैयाँ सहयोग पठाएको छ । उक्त कम्पनीमा कार्यरत रहेको अवस्थामा हृदयघात भई मृत्यु भएका अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका सुशील परियारको आश्रित परिवारलाई दुई पटक गरी ४ लाख ११ हजार रुपैयाँ पठाइदिएको हो । परियार १८ महिना अघि नेष्टो ग्रुप अफ कम्पनी अन्तरगतको थ्री स्टार कम्पनीका क्लिनरको काममा गएका थिए ।

राजधानीको गोंगबुस्थित नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.को पहलमा यूएईस्थित नेष्टो कम्पनीले उक्त रकम पठाएको हो । कम्पनीका सञ्चालक नरेन्द्र प्रसाद ढकालले शुक्रवार कम्पनीको कार्यालयमा मृतककी श्रीमती कमला परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिए । कम्पनीले शुरुमा एक लाख रुपैयाँ प्रदान गरेकोमा पछिल्लो पटक ३ लाख ११ हजार रुपैयाँ पठाएको थियो । परियारले वैदेशिक रोजगार बोर्डबाट पाउनुपर्ने रकम स्थानीय निकायमार्फत पाइसकेकी छन् ।

सञ्चालक ढकालले यूएईको उक्त कम्पनी कामदारप्रतिको उत्तरदायित्वमा प्रतिवद्ध रहेको बताए । यसअघि उक्त कम्पनी अन्तरगतको नेष्टो हाईफर मार्केटले विदामा नेपाल आएका बेला मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वतनपुर गाउँपालिक वडा न. ३ धनसिङपुर कैलालीका कमल साउदको परिवारलाई पनि एक लाख रुपैयाँ सहयोग पठाएको थियो ।

ठूलो संख्यामा नेपाली कामदार कार्यरत नेष्टोले प्रतिकुल अवस्थामा नेपाली कामदार र उनीहरुका परिवारलाई सहयोग गर्दै आएको सञ्चालक ढकालले जानकारी दिए । श्रेष्ठले यसअघि २०७२ सालको भुकम्पका पीडितका आश्रित परिवारलाई पनि उक्त कम्पनीले राहत पठाएको बताउँदै कामदारको हितलाई उक्त कम्पनीले उच्च महत्व दिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्