स्वर्गीय कुलानन्द बञ्जाडेको स्मृतिमा ढाकावाङ्गका उत्कृष्ट ३० विद्यार्थी सम्मानित

| २०८१ जेठ १६ गते १५: ४० मा प्रकाशित

टेकराज भुसाल,बुटवल। चार दशक लामो शिक्षण पेशासँगै नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुराउनमा अर्घाखाँची ढाकावाङ्गका कुलानन्द बञ्जाडेको ठूलो योगदान रहेको  छ। शिक्षण पेशासँगै कम्युनिष्ट आन्दोलनलाई समय अनुसार भूमिगत र खुल्ला रुपले योगदान पुराएका  बन्जाडेकाे असमायिक निधन भएको आज १८ वर्ष पुगेको छ।

शिक्षाप्रेमी  स्व. बञ्जाडेको १८ औं स्मृति दिवसकाे अवसर पारेर भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस)का उत्कृष्ट बिद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरीएको छ।

स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानले बुधबार भूमिकास्थान - २ का वडाध्यक्ष बुद्धिबहादुर थापाकाे विशेष उपस्थितिमा  १५ बिद्यालयका उत्कृष्ट  ३० जना छात्रछात्रा बिद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो।

साे अवसरमा बाेल्दै वडाध्यक्ष थापाले स्वर्गीय बन्जाडेकाे याेगदान शिक्षा क्षेत्रसँगै नेपालको कम्युनिस्ट आन्दोलन, समाज र राष्ट्र परिवर्तनमा रहेको बताउदै स्वर्गीय  बन्जाडेले सिकाएकाे पाठबाट आफूहरु अघि बढेको बताए।

प्रत्येक बर्ष स्वर्गीय बन्जाडेको सम्झनामा बिद्यार्थीलाई प्रोत्साहन स्वरुप गरीने सम्मान कार्यक्रमले विद्यार्थीलाई हौसला मिल्ने प्रतिष्ठानका अध्यक्ष भुवानन्द भुसालले बताए।

स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानका अध्यक्ष भुवानन्द भुसालको अध्यक्षता, उपाध्यक्ष बाबुराम खनालको स्वागत मन्त्वय र सचिव हिमलाल खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा  विद्यार्थी, शिक्षक, अविभावक, शिक्षाप्रेमी जनप्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

विश्व माध्यामिक विद्यालय ढाकावाङ्गका तत्कालिन प्रधानाध्यापक स्व. बन्जाडेको २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण असमायिक निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्