प्रचण्डले ३ वर्ष ओलीलाई नेता मान्दा ठिक हुने अनि हामीले मान्दा बेठिक भयाे ? : टोपबहादुर रायमाझी

| २०७९ सावन २० गते १९: ०० मा प्रकाशित

काठमाण्डाै। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरूप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समीक्षा हुनुपर्ने बताउनुभएकाे छ ।

 हिंजो(बिहीवार) काठमाण्डौको रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठिक हुने र आफूहरूले मान्दा कसरी बेठिक हुने भनेर प्रश्न गर्नुभएकाे छ । उहाँले भन्नुभयाे, ‘प्रचण्डले तीन वर्ष ओलीलाई नेता मान्दा ठिक हुने अनि हामीले मान्दा बेठिक भयो त ?’ उहाँले आफूहरूले पदका लागि माओवादी छोडेको भन्ने आरोपमा सत्यता नभएको जिकिर गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘म अहिले सांसद पनि छैन । मन्त्री पनि छैन । म त्याग गर्न पनि तयार रहेको मान्छे हुँ ।’

 चुनावमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयाे, ‘राजनीतिक पार्टीप्रति जनतामा वितृष्णा पैदा भइरहेको छ । अहिले कठिन छ । दलहरूसँग जनताको आशा थियो, त्यो पूरा नभएपछि वितृष्णा भएको छ । काठमाण्डाैकाे मेयर हुनुभन्दा पहिले बालेन्द्र साहले पनि काठमाण्डाै उपत्यका सफा गर्छु भन्नुभएको थियो । अहिले फोहोरको थुप्रो देखिएको छ । अहिले बालेन्द्रलाई गाहो परिरहेको छ ।’

 रायमाझीले विषय उठाउन सजिलो भए पनि त्यसलाई बसाउन गाह्राे रहेकाे सुनाउनुभयाे । उहाँले आफू भौतिक पूर्वाधारमन्त्री हुँदा काठमाण्डाै सडक विस्तार गरेको पनि दाबी गर्नुभयाे । यस्तै स्थानीय विकासमन्त्री हुँदा काठमाण्डाैकाे फोहोरको व्यवस्थापन १५ दिनभित्र गरिदिएको उहाँको दाबी छ । उहाँले सबै नेतालाई एउटै डालोमा नहाल्नसमेत आग्रह गर्नुभयाे । अब देश नयाँ कार्यदिशाका साथ अघि बढाउने उहाँले सुनाउनुभयाे ।

नेता रायमाझीले आफूहरूको लक्ष्य र कार्यदिशा भनेको नै समाजवादमा पुग्ने रहेको बताउनुभयाे । उहाँले अब स्वस्थ राजनीतिक प्रतिस्पर्धा र लोकतान्त्रिक माध्यमबाट समाजवादमा जानुपर्नेमा जोड दिनुभयाे । उहाँले पाँच दलीय गठबन्धनप्रति आक्रोश पोख्नुभयाे । गठबन्धनले देशलाई विकासको बाटोमा अघि नबढाउने उहाँकाे जिकिर छ ।
 
नेता रायमाझीले अब राष्ट्रियतामाथि सबैभन्दा ठूलो सङ्कट आएको पनि टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘राष्ट्र, राष्ट्रियताको विषयमा गम्भीर खतराको कुरा आयो । चाहे एमसीसीको कुरा गर्नुहोस्, एसपीपीको कुरा गर्नुहोस् वा नागरिकता विद्येयकको कुरा गर्नुहोस् । देशकाे राष्ट्रियता के हुने हो भनेर अहिले गम्भीर प्रश्न उठेको छ ।’ उहाँले केही समयका लागि मात्रै गठबन्धनले एसपीपी स्थगित गरेको आरोप लगाउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘चुनावका कारण मात्रै यो गठबन्धनले एसपीपी केही समय स्थगित गरेको हो । तर गठबन्धन कुनै पनि कष्टमा यसलाई निर्णय गरेर जाने दिशातर्फ जाँदैछ । अहिले टालटुल गरेर पत्र पठाएको भनेको छ । त्यो पनि दबाबको बाबजुद ।’स्रोत - नेपालराजनीति 

प्रतिक्रिया दिनुहोस्