अर्घाखाँचीमा माओवादी-पूर्वमाओवादीबीच चुनावी प्रतिस्पर्धा

| २०७९ भदौ ७ गते १६: ०८ मा प्रकाशित

अर्घाखाँची। भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। वर्षाैँसम्म संगत गरेका प्रिय साथीसँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्छ। अझ संसदीय प्रणालीमा त आलोचना, छेडछाड र गालीगलौज मात्र होइन, जित्नकै लागि विभिन्न तिकडम गर्न पछि पर्नुहुँदैन भन्ने नेपालका नेताहरुले अभ्यासमै देखाएका छन्। यस्तै अवस्थामा पुगेका छन्– माओवादी केन्द्रका स्थायी समिति सदस्य डिलाराम आचार्य र पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी।

दुई वर्षअघि (२०७७) माओवादी छाडेका टोपबहादुर अहिले एमाले केन्द्रीय सचिव छन्। डिलाराम माओवादी केन्द्रको स्थायी समिति सदस्य छन्। दुवैको गृहजिल्ला अर्घाखाँची हो। यसपालिको चुनावमा जिल्लामा माओवादी र पूर्वमाओवादीबीच चुनावी भिडन्त हुने लगभग पक्का छ।

दुवैको राजनीति तत्कालीन मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालको विद्यार्थी संगठनबाट पञ्चायतीकालमै भएको थियो। मंसिर ४ का लागि तय भएको प्रतिनिधि सभा चुनावमा दुवै जना उम्मेदवार बन्दैछन्, त्यो पनि गृहजिल्ला अर्घाखाँचीबाटै।

अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र छ। त्यही एउटा क्षेत्रमा माओवादी भर्सेस् पूर्वमाओवादीबीच प्रतिस्पर्धा हुने नेताहरु बताउँछन्। रायमाझी एमालेबाट उठ्दैछन् भने आचार्यलाई माओवादी केन्द्रले गठबन्धनका तर्फबाट उम्मेदवार बनाउँदैछ। आचार्य अहिले पाँच दलीय गठबन्धनबाट सो क्षेत्रको उम्मेदवार बन्ने लगभग निश्चित भएको बताउँछन्।

२०७४ मा तत्कालीन माओवादी केन्द्रबाट रायमाझीले सो क्षेत्रमा जितेका थिए। डिलाराम पनि राष्ट्रिय जनमोर्चाका पूर्वसांसद हुन्।

रायमाझी र आचार्यको राजनीतिक यात्रा

२०३४/०३५ देखि पञ्चायती व्यवस्था अन्त्यको लागि यी दुई नेता मसाल बनेका थिए। जिल्लामा उनीहरु लडाकू स्वभावका नेता मानिन्थे।

टोपबहादुर २०४६ मा अखिल छैठौँको अध्यक्ष भए। तर, २०४८ मा टोपबहादुरले मसाल छाडे। २०४८ को संसदीय चुनावमा उनी संयुक्त जनमोर्चाका तर्फबाट उम्मेदवार थिए। उनी बाबुराम भट्टराई, हरिबोल गजुरेल, राम कार्कीसहितका नेताहरुसँग प्रचण्ड नेतृत्वको तत्कालीन एकता केन्द्रमा मिसिए– पार्टीको नाम रह्यो नेकपा माओवादी।

माओवादीले २०५२ सालमा दीर्घकालीन जनयुद्ध थाल्यो। त्यसमै सहभागी भए टोपबहादुर। जनयुद्धमा अनिल लगायतका नामले चिनिएका उनले जनयुक्ति सेनाको कमान्डरका रुपमा पनि काम गरे। उनी योङ कम्युनिस्ट लिग (वाईसीएल) का संस्थापक संयोजक पनि हुन्।

२०५४ मा माओवादीको पोलिटब्युरो सदस्य बनेका टोपबहादुर दुई पटक माओवादीको प्रवास ब्युरो इन्चार्ज भए। २०५८ सालमा उनी पश्चिमाञ्चल इन्चार्ज बने। यस्तै, माओवादीको सचिवालय सदस्य र मधेश इन्चार्ज बनेर काम गरे।

२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन हुँदै माओवादी शान्ति प्रक्रियामा आयो। उनी प्रभावशाली नेतामै पर्थे। २०६४ को पहिलो संविधान सभा, २०७० को दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा चुनावमा रायमाझी अर्घाखाँचीबाट सांसद निर्वाचित भए। २०७४ को चुनावमा ५० हजार मत कटाउने रायमाझी माओवादीका एक्ला नेता थिए।

टोपबहादुर चार पटक मन्त्री भए। पहिलो पटक स्थानीय विकासमन्त्री भएका उनी उर्जामन्त्री पनि भए। २०७५ मा एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बन्यो। तर, ५ पुस २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे। त्यसले नेकपाभित्र शक्ति संघर्ष चुलियो।

ओलीविरुद्ध नेकपाका बहुमत नेताहरु सडक संघर्षमा उत्रिए। संघर्ष चर्किएकै बेला २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले नेकपा भंग गरिदियो। एमाले र माओवादी पुरानै अवस्थामा फर्किए। माओवादी नेता माओवादीमै फर्किए पनि टोपबहादुरसहित रामबहादुर थापा, मणि थापा र प्रभु साह एमालेमै बसे।

उनीहरु एमालेमै बसेकाले माओवादीले कारबाही गर्यो, उनीहरुले सांसद पद गुमाए। अब मंसिर ४ मा हुने चुनावमा टोपबहादुर फेरि जितेर सिंहदरबार आउने योजनामा छन्। उनले एमालेबाट उम्मेदवारको एक्लो दाबेदार भएको बताएका छन्।

‘एमालेबाट म एक्लै उम्मेदवारको दाबेदार हुँ,’ रायमाझीले नेपालखबरसँग भने, ‘चुनावको तयारीमा लागिसकेको छु, अहिले पनि प्रशिक्षण र भेलामै छु।’

तर, पहिलेजस्तो चुनावमा जित्न सहज नभएको उनले स्वीकार गरे।

‘स्थानीय तहमा धेरै पालिका जिताएकोले मैले जित्ने सम्भावना बढी नै छ,’ उनले थपे, ‘प्रतिस्पर्धा तीव्र हुने भएकोले यसै भन्न सक्ने अवस्था छैन। जित निकाल्न प्रयत्न गरिरहेको छु।’

उता, डिलाराम आचार्यको राजनीतिक आवद्धता फरक छ। उनी लामो समय प्रवासमा रहेर मसालको राजनीति गरेका नेता हुन्। उनी सो पार्टीको प्रवास इन्चार्ज थिए।

नेपालमा २०४६ चैत २४ गतेदेखि जनआन्दोलन सुरु भयो। उनी भारतबाट २५ गते नेपाल फर्र्किए। त्यसपछि पनि उनको जिम्मेवारी प्रवासकै थियो। २०५६ मा उनले मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चाबाट अर्घाखाँची जिल्ला क्षेत्र नम्बर १ बाट संसदीय चुनाव जिते। त्यसपछि बागमती क्षेत्रीय ब्युरो इन्चार्ज र किसान संघको अध्यक्ष भए।

जनयुद्ध उत्कर्षमा पुग्यो। सांसदहरुले पुरै काम गर्न पाएनन्। २०५८ मा संकटकाल लाग्यो। २०६१ मा राजा ज्ञानेन्द्रले सत्ता आफ्नै हातमा लिएपछि जनआन्दोलनका लागि संसदमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चासहित सात दल एकै ठाउँ जुटे।

जंगलमा माओवादीको आड र संसदमा ७ दलको सहकार्यले २०६२/०६३ मा ऐतिहासिक जनआन्दोलन भयो। राजाले सत्ता फिर्ता गरे। फेरि संसद् ब्युँतियो। २०५६ देखि २०६४ सम्म सडक र सदनमा आन्दोलन गरेको उनले स्मरण गरे। यो समयमा देशका सबै जिल्ला घुमेको उनले बताए।

२०६७ जेठमा डिलारामसहित दधिराम न्यौपाने, गिरिधारीलाल न्यौपाने, निमानन्द गैरेसहित १७ नेताले मसाल छोडेर तत्कालीन एमाओवादीसँग एकता गरे।

१९ वर्षपछि भेट, १० वर्ष एकैठाउँ

डिलाराम २०१८ सालमा जन्मेका हुन्। टोपबहादुर रायमाझी २०१७ सालका छन्। उमेरले टोपबहादुर डिलारामका दाइ हुन्। उमेरमा अन्तर भए पनि दुवैबीचको सम्बन्ध सुमधुर छ।

०४८ मा छुटेका डिलाराम र टोपबहादुरको भेट १९ वर्षपछि अर्थात् २०६७ मा भयो। लामो समय मसालको राजनीति गरेका डिलाराम पनि पार्टी छोडेर माओवादीमा मिसिएपछि दुई नेता एकै ठाउँ भए।

२०७० मा भएको दोस्रो संविधान सभा चुनावमा डिलाराम समानुपातिक सांसद बने। टोपबहादुरले प्रत्यक्षमै अर्घाखाँची १ बाट चुनाव जिते। उनले लुम्बिनी प्रदेशबाट जित्ने एक मात्र माओवादी नेताको छवि बनाए।

टोपबहादुरले रेकर्ड राख्दा हारे डिलाराम

संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधि सभा चुनावको नतिजाले डिलारामलाई झड्का दियो। २०७४ को प्रतिनिधि सभा चुनावमा एमाले–माओवादी केन्द्रबीच तालमेल थियो।

अर्घाखाँचीमा एउटा मात्र निर्वाचन क्षेत्र भयो। जसमा टोपबहादुर उठे।

टोपबहादुरले अर्घाखाँचीको पुरानै क्षेत्रबाट निरन्तर जित निकाल्दै माओवादी केन्द्रमै सबैभन्दा बढी मत पाउने नेताको रेकर्ड बनाए।

उनले ५० हजार ३८५ मत ल्याएर नेपाली काँग्रेसका डा. रामबहादुर बिसीलाई हराए। बिसीले ३१ हजार ९४१ मत पाए। डिलाराम भने रुपन्देही–५ बाट उठे। तर, उनी कांग्रेससँग पराजित भए। कांग्रेसका भरतकुमार साहले ३३ हजार ८८ मत ल्याउँदा आचार्यले २० हजार४३८ मात्र मत पाए।

पराजयपछि सिंहदरबार छिर्ने उनको योजना पुरा भएन। टोपबहादुर भने सिंहदरबार छिरेर मन्त्री बने।

तर, टोपबहादुरसँग आफूले उचित दुरी राखेको डिलारामले बताए।

‘गाडीमा लेखेको हुन्छ नि, ‘किप राइट डिस्ट्यान्स’ भनेर, म दुरीमा बसेँ,’ उनले नेपालखबरसँग भने, ‘मैले आफैँले केटी मागेर उहाँको बिहे गरिदिएको हुँ, तर मन्त्री भएपछि दुरी बढ्यो, डिस्ट्यान्समा बस्न थालेँ।’

चुनावबारे के भन्छन्?

टोपबहादुरले चुनावको सबै तयारी गरिसकेको बताएका छन्। उनको विश्लेषणमा डिलारामभन्दा पनि कांग्रेस प्रतिस्पर्धी हो। किनभने अर्घाखाँचीमा कांग्रेसको मत बढी छ। दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा राष्ट्रिय जनमोर्चा छ।

तर, डिलाराम पूर्वसहकर्मीसँगै चुनावमा होमिन पाउनुलाई सुवर्ण अवसर ठान्छन्।

‘टोपबहादुरजीसँग चुनावमा भिड्ने यो मेरो लागि सुवर्ण अवसर हो,’ डिलारामले भने, ‘अब त्यो अवसर सदुपयोग हुन्छ।’

तर, उनले टिकट पाउने, नपाउने अझै निश्चित छैन। किनकि गठबन्धनले सिट संख्या टुंगो लगाएको छैन।

डिलाराम भने यसअघि माओवादीले प्रत्यक्षमा जितेको सिट अहिले पनि पाउने सहमति जुटिसकेकोले आफूले अर्घाखाँचीमा उम्मेदवारी पाउनेमा आफू ढुक्क रहेको बताउँछन्।source- pathivara daily

प्रतिक्रिया दिनुहोस्