स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

| २०८० मंसिर १४ गते १४: ५५ मा प्रकाशित

काठमाडौँ, मङ्सिर १४ गते । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अंग्रजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । 

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अंग्रजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । त्रिविका रजिष्ट्रार प्रा।डा।पेशल दाहालले यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढदा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने बताउनुभयो । “साहित्यिक विषय अरु विषय पढेकाले पनि पढ्न सक्ने भएका छन् । अरु विषय प्रयोगात्मक भएकाले आधारभूत आधार आवश्यक हुन्छ । तर नेपाली र अंग्रेजी साहित्य विषय भएकाले सक्ने छन्”, उहाँले भन्नुभयो, “विषयगत समिति र सङ्कायको सिफारिस पछि प्राज्ञिक परिषद्ले निर्णय गरेको हो ।”  

त्रिवि नेपाली विभागका प्रमुख प्रा।डा।खगेन्द्रप्रसाद लुइँटेलले त्रिवि वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न पाउने छन् । त्रिवि अंग्रजी विभागका प्रमुख प्रा।डा।जीवलाल सापकोटाका अनुसार कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको विद्यार्थीले अंग्रजीमा स्नात्तकोत्तर तहमा पढ्न पाउने भएको बताउनुभयो । 

मापदण्डअनुसार त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम एक सय पूर्णाङ्क वा सोसरह अंग्रेजीसहित कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट स्नातकतहको समकक्षता प्राप्त गरेको हुनुपर्ने छ । यस्तै अंग्रेजी मातृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातकतह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्