आसन्न निर्वाचनमा गठबन्धन विजयी हुनु संविधानको जित हुनु हो : भुसाल

| २०७९ कार्तिक २१ गते २०: ४३ मा प्रकाशित

रबि पोख्रेल मालारानी,अर्घाखाँची । बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालले अहिलेको चुनावमा आफुहरुको जित नै संविधानको जित हुने भन्दै निर्धक्क भएर भोट दिन अपिल गर्नुभएको छ।

५ दलिय गठबन्धन निर्वाचन प्रचार-प्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका वार्ड नम्बर १ को मरेङ्ग,२ को अर्घातोष,३ को खनदह,४ को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो अपिल गर्नुभएको हो ।

काङ्ग्रेस केन्द्रिय सदस्य समेत रहनुभएकी प्रतिनिधिसभा सदस्य भुसालले ६ दशक लामो संघर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाइ जिताए देशले हार्ने बताउनुभयो । संविधानको सहि कार्यान्वयन गर्दै दीगो विकास गर्ने जिम्मा गठबन्धनको काधमा आएको दाबी गर्दै नेत्री भुसालले आफुहरुले जितेपछि अर्घाखाँचीमा वास्तविक विकासको सुरुवात गर्ने वचन दिनुभएको छ।

यस्तै बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रदेशसभा क का साझा उम्मेदवार सागर के.सी.ले अहिलेका एमालेले १५ बर्षमा गर्न नसकेको काम अढाई बर्षमा गर्ने उदघोष गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य समेत रहनुभएका उम्मेदवार के.सी.ले दल,गुट,समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिदा जिल्ला पछाडी परेको आरोप लगाउदै आफुहरुको जित नै सिङ्गो अर्घाखाँचीको जित हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रेवती प्रसाद भुसालले दुई तिहाईको सरकार ढालेर संसद र संविधानमाथी आक्रमण गर्नेलाई परास्त गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । पुर्व मन्त्री समेत रहनुभएका नेता भुसालले अर्घाखाँचीबाट प्रतिगमनको प्रतिनिधित्व गर्नेलाई नभै गठबन्धनलाई मत दिन उहाँले जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।

काङ्ग्रेसका अर्का नेता डाक्टर राम बहादुर वि.सी.ले राष्ट्रिय आवश्यकताले गठबन्धन बनेको ब्रीफिङ्ग गर्दै गठबन्धनका उम्मेदवारलाई इमानदारीपुर्वक भोट दिएर जिताउन आग्रह गर्नुभएको छ । एमालेको भ्रम र झुठो आश्वासनबाट मतदाता नझुक्किएमा गठबन्धनको जित शुनिस्चित रहेकोे उहाँको भनाई छ ।

नेपाली काङ्ग्रेसका नेता बालकृष्ण पाण्डेले आसन्न निर्वाचन पछीपनि गठबन्धनको सरकार बन्ने जिकिर गर्दै अर्घाखाँचीका आम जनताले महसुस गर्नेगरी विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज ठाकुर कुमार वि.क.किशोरले प्राप्त उपलब्धिको संरक्षण गर्दै मुलुकलाई दिगो विकासको दिशामा लैजान गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले प्रतिगमनका मोतियारलाई उठ्नै नसक्ने गरि पल्टाउन आफ्नो समर्थन सागर के.सी.लाई रहेको स्पष्ट पार्नुभएको छ ।

नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य गोकर्ण थापाले जनतालाई गफले रनभुल्ल पार्नेहरुले देशलाई उदोगतीमा लगेको आरोप लगाउनुभएको छ । नेसपाका जिल्ला इन्चार्ज समेत रहनुभएका नेता थापाले प्रतिगामीलाई परास्त नगरे अर्घाखाँची विकासमा पछाडि पर्ने भन्दै गठबन्धनलाई जिताउन अपिल गर्नुभएको छ ।

गठबन्धनको तर्फबाट काङ्ग्रेस नेता बिष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ,नेता तारा श्रेष्ठ,नेत्री निर्मला क्षेत्री,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.,माओवादी केन्द्रका नेता देव बहादुर खड्का,देव बहादुर रायमाझी लगायतको सहभागीता रहेको अभियानमा स्थानीयले उत्साहपुर्वक स्वागत गरेको आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्