माओवादी केन्द्रद्वारा दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध

| २०७८ असार १५ गते १६: ०० मा प्रकाशित

विराटनगर । सांसदलाई व्यक्तिगत गालीगलौच गरेकामा भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले मंगलबार पनि प्रदेश १ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।

आइतबार सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहन खड्कालाई व्यक्तिगत रुपमा गालीगलौच गरेको भनी माओवादी केन्द्रले विरोध जनाएको छ ।

मन्त्रीले माफी माग्नुपर्ने र उनको उक्त विवादास्पद अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटानुपर्ने माग गर्दै माओवादी केन्द्रले सोमबार पनि सदन अवरुद्ध गरेको थियो ।

मंगलबार माओवादी केन्द्रले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले असार २० गतेसम्मका लागि वैठक स्थगित गरेका छन् ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले संसदको गतिरोध अन्त्य गर्न छलफल भइरहेको बताए । ‘संसदको गतिरोध अन्त्य गर्न हामीले छलफल गरिरहेका छौ,’ उनले भने ‘सबैसँग छलफल भइरहेको छ १-२ दिनमा निकास निस्कन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्