उज्वल थापाको उपचारमा बचेको रकम ७ संस्थालाई प्रदान

| २०७८ सावन २ गते २०: ०१ मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीका दिवंगत नेता उज्वलबहादुर थापाको उपचारका क्रममा संकलन भएको रकम सात वटा सामाजिक संस्थालाई दिइएको छ ।

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थापाको उपचारका लागि विश्वभरका करिव २,८०० व्यक्तिबाट ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा रकम संकलन भएको थियो । थापाको परिवारका अनुसार उपचारमा २४ लाख २० हजार ३४९ रुपैयाँ खर्च भएको छ भने बैंक तथा रकम स्थानान्तरणमा १ लाख १० हजार ९३४ रुपैयाँ १६ पैसा खर्च भएको छ ।

उनको उपचारका क्रममा १८ जेठमा निधन भएको थियो । उपचारका लागि जुटेको सहयोगमध्ये ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा खर्च नभएको उज्जवलको परिवारले जनाएको छ । यो रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भव देखिएको भदै परिवार, साथी र शुभेच्छुकहरूले कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गर्ने निर्णय गर्‍यो ।

त्यसका लागि ४१ वटा संस्थाको सूचना बनाएको भएपनि काम हेरेर सात वटालाई दिइएको थापाको परिवारले जनाएको छ ।

थापाको परिवारका अनुसार संस्थाहरूको काम हेरी छोटो सूची बनाइयो । छोटो सूचीमा भएकाहरूको कामलाई हेर्दा र उनीहरूसँग अन्तर्वार्तासमेत गर्दा सातओटा संस्थाहरू उपयुक्त हुने देखिएकाले ती सातओटा संस्थाहरूलाई चयन गरियो ।

त्यस अनुसार राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँलाई १५ लाख, ओडा फाउन्डेसन, कालीकोटलाई १० लाख, सानो पाइला, वीरगञ्जलाई ६ लाख, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौंलाई ५ लाख रुपैयाँ दिइएको छ ।

यस्तै भोरे नेपाल, सर्लाहीलाई २ लाख ५० हजार, मधेश ह्युमन राइट्स होम, कपिलवस्तुलाई २ लाख दुई हजार २०१ रुपैयाँ ७२ पैसा र हार्टबिट, काठमाडौंलाई २ लाख दिइएको छ । रकम हस्तान्तरण गर्दै थापाकी श्रीमती एरिका अधिकारीले सहयोग रकमले समस्यामा रहेका व्यक्तिहरूलाई मद्दत पुग्ने आशा व्यक्त गरिन् । 


अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्