कथित धनगढी भेलाका अगुवाको माओवादी केन्द्रसँग ‘वार्गेनिङ’

| २०७८ भदौ १२ गते १७: ३८ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रिय जनमोर्चाका नाममा सुदूरपश्चिममा भेला गरेको समूहका अगुवाले नेकपा (माओवादी केन्द्र) सँग वार्गेनिङ गरेको खुलासा भएको छ । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई दक्षिणपन्थी भएको आरोप लगाउँदै छुट्टै भेला गर्नुको रहश्य माओवादीसँगको साँठगाँठ भएको बुझिएको छ ।

माओवादी केन्द्रका प्रदेशस्तरीय एक नेताले सो समूहसँग आफ्नो पार्टीको ‘कुरा भएको’ स्वीकार गरेका छन् । उनले समूह नै बनाएर आए नेताहरूलाई उचित स्थान दिन सकिने बताएको  जानकारी दिए ।

‘उहाँहरुले बिना मगरसहित नेताहरुसँग कुराकानी भएको हो’ उनले भने, ‘अलग पार्टी गठन गरेर आए उचित पद दिने कुरा भएको छ ।’

ती नेताले ‘उचित पद’ बारे खुलाउन नचाहे पनि एक जनालाई प्रदेश सदस्य र कञ्चनपुर र कैलालीमा एक/एक स्थानमा दलित आयोगको सदस्य बनाइदिने आस्वासन दिएको जानकारी प्राप्त भएको छ । सोही आधारमा ती व्यक्तिहरू सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि भेट्न गएको मुख्यमन्त्री कार्यालय स्रोतले पनि पुष्टि गरेको छ ।

मुख्यमन्त्रीका एक सहयोगीले भने, ‘उहाँहरु आउनु भएको थियो । तर, के विषयमा कुरा भयो भन्ने थाह भएन ।’

माओवादी स्रोतले गरेको कुराकानी पुष्टि गर्न हामीले राष्ट्रिय जनमोर्चाका केही नेता कार्यकर्तासँग सम्पर्क गर्यौं ।

कथित प्रदेश समितिको सचिव बनाइएका लक्षीराम आचार्यले लम्कीको एउटा भेलामा ‘अब हामी माओवादीमा जानुपर्छ, यहाँ बसेर काम छैन’ भनेको नेकपा (मसाल) कैलालीका जिल्ला प्रवक्ता मिलन शाहीले बताउनुभयो । लक्षीरामको भनाई उदृत गर्दै शाहीले भन्नुभयो, ‘हामी समूह बनाएरै माओवादीमा जाने हो । सबै जना जाऔँ । तपाईंहरूको संरक्षण म गर्छु ।’

यता, कञ्चनपुरमा पनि लोकेन्द्र लम्सालले माओवादीमा जान गुटबन्दी गरेको बुझिएको छ । राष्ट्रिय जनमोर्चा निकट एक जनवर्गीय संगठनका नेताले भने, ‘हामी यतिका वर्ष पार्टीमा लागेर बर्बाद भयौं, सम्पति कमाउन पनि सकिएन । राजनीतिमा पनि अगाडि जान सकिएन । अब माओवादीमा जाने हो भनेर लम्सालजीले भन्नुभयो ।’

राष्ट्रिय जनमोर्चाको नाममा कथित भेला गरेर सो समूहले राष्ट्रिय जनमोर्चाको केन्द्रसँग सम्बन्ध विच्छेदको घोषणा गरेको छ । सो समूहका अगुवा लालबहादुर जाग्रीले फेसबुकमा लेखेका छन्, ‘चित्र बहादुर केसीले नेतृत्व गरेको पार्टीसँग हाम्रो राजनीतिक, वैचारिक आधारभुत रुपमा मतभेद रही लामो समय संघर्ष गर्दै आएकोमा उहाँको पार्टीसँग वैचारिक र राजनीतिक वैधानिकता मागेका छैनौँ । यस कमिटिको आफ्नो विचार र राजनीति रहेको छ ।’

जाग्रीकै भनाईअनुसार पनि सो समूहको राजनीति नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चाको विचारसँग अब कुनै साइनो छैन । तै, पनि उनीहरू अझै केही समय राष्ट्रिय जनमोर्चाकै नाममा गतिविधि जारी राखेर पार्टी कार्यकर्तालाई भ्रममा पार्ने कोशिस गरिरहेका छन् ।

लाखौं खर्च, ‘डोनर’ को ?

राष्ट्रिय जनमोर्चाको नाममा यही भदौ ८ र ९ गते धनगढीमा गरिएको कथित भेला एउटा सुविधासम्पन्न होटलमा गरिएको थियो । पार्टीको भेला भन्दै झुक्याएर ल्याइएका कार्यकर्तालाई धनगढीको बीएण्डबी होटलमा आवासीय भेला गरिएको थियो । सहभागी पार्टी सदस्यका अनुसार कार्यकर्तासँग मेस/प्रवेश उठाइएको छैन, बरु पहाडी जिल्लाबाट आउनेलाई आतेजाते बस भाडा दिइएको छ ।

राष्ट्रिय जनमोर्चाले प्रायजसो आफ्नो भेला, सम्मेलन गर्दा विद्यालय वा सामुदायिक भवनहरूलाई प्रयोग गर्छ । सहभागीबाट मेस प्रवेश उठाउँछ । त्यतिले नपुगे सुभचिन्तकबाट सहयोग संकलन गर्छ । त्यो कुनै स्रोतबाट नभइ महंगो होटलमा लाखौं खर्च गरेर कार्यक्रम गर्ने पैसा कहाँबाट आयो ?

स्रोत भन्छ, माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारले सहयोग गरेको हो । अब जिल्लाहरूमा पनि समानान्तार समिति बनाउने र त्यसका लागि भेला गर्न ‘चाहिने जति’ रकम सहयोग गर्न माओवादीले आश्वासन दिएको स्रोतको दाबी छ ।

कार्यकर्ता भन्छन् : हामीलाई झुक्यानमा पारियो
भेलामा सहभागी अधिकांश कार्यकर्तालाई झुक्याएर ल्याइएको सहभागीहरूले नै खुलासा गरेका छन् । राष्ट्रिय जनमोर्चाका सदस्य राजबहादुर तिरुवाले फुटपरस्त तत्त्वहरूले आफूलाई झुक्याएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– ‘पार्टीको प्रदेश भेला छ भनेर मलाई बोलाइयो । त्यसैले म धनगढी भेलामा गएको थिएँ ।’ तिरुवाले आफूलाई यथार्थ जानकारी नदिइकन प्रदेश समितिको सदस्यमा राखेकोमा आपत्ति जनाउनुभयो ।

यस्तै, राजमो कैलालीका सल्लाहकार शंकर सोव, जिल्ला सदस्य टिकाराम नेपाली, सुरेन्द्र ताडीलगायत नेताहरूले पनि आफूलाई झुक्याएर भेलामा लगिएको र समितिमा राखिएको बताउनुभएको छ । यस्तै, राजमो कैलालीका सदस्य मनकुमारी सोब, रत्न सञ्ज्याल, अखिल नेपाल युवक संघ कञ्चनपुरका नेता दशरथ सुवेदीलगायतले आफूलाई ‘पार्टीको कार्यक्रम छ’ भनि झुक्याएर लगिएको बताउनु भयो ।

राजमो डोटीका सदस्य मानबहादुर खड्काले त आफूलाई अपहरणकै शैलीमा भेलामा लगेर प्रदेश समितिको सदस्य बनाएको बताउनु भयो ।

सो समूहले कतिपय देशबाहिर रहेका वा फुटपरस्त तत्वसँग सरोकारै नराख्ने पार्टीका इमान्दार कार्यकर्ताको नामसमेत समितिमा राखेका छन् । अखिल (छैठौं) का केन्द्रीय सदस्य डबल तिरुवा हाल भारतको पञ्जावमा हुनुहुन्छ । तर, उहाँलाई पनि कथित प्रदेश समितिमा राखिएको छ । जो कतिपय यथार्थ बुझेर पार्टीमा फर्किएका छन् भने कयौं फर्किने क्रममा रहेका छन् ।

माओवादीमा जान नदिने जागरण गुटको प्रयास
सुदूरपश्चिममा भेला गरेको समूहलाई माओवादीमा जान नदिने जागरण गुटको प्रयतन रहेको बुझिाएको छ । नेकपा (मसाल) बाट केही समयअघि निष्काशनमा परेका र बेग्लै केन्द्र सञ्चालन गरेका एक नेताले सुदूरपश्चिमको कथित प्रदेश समिति आफूसँगै रहने दाबी गरे ।

‘उहाँहरूको भेला वैधानिक छ । कुनै पार्टीमा जानुहुन्न । हामीसँगै रहनुहुन्छ’ उनले भने ।

ती नेताका अनुसार सुदूरपश्चिममा जस्तै अब अन्य जिल्ला, क्षेत्र र प्रवासमासमेत ‘विद्रोह’ हुनेछ र बेग्लै समानान्तर समिति बनाइने छ । उनले मसाल नेतृत्व दक्षिणपन्थी भएको र आफूहरूले क्रान्तिकारी पार्टी निर्माण गर्ने दाबी पनि गरे ।

स्रोतका अनुसार जागरण समूहमा छुट्टै संगठन निर्माण गर्ने लविको बाहुल्यता छ । त्यसबाहेक वैद्य, विप्लव र हालै गठन भएको माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) लवीका मानिसहरू छन् । जसको उदाहरण केही दिन अघि सो समूहले गरेको एउटा कार्यक्रममा माधव नेपाल समूहका नेता वेदुराम भुसाललाई बोलाइएकोबाट प्रष्ट हुन्छ । त्यसको केही दिनअघि मात्रै सोही समूहका नेता मेटमणी चौधरीले ‘वैद्य,विप्लव र जनमोर्चाको एउटा पक्ष समेटेर आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका थिए ।

जागरण समूहकै अनुसार हाल सुदूरपश्चिममा देखिएको माओवादी केन्द्रको लवी भने नयाँ हो । उनीहरूले जागरण केन्द्रलाई नै प्रयोग गर्न खोजेको सो समूहको बुझाई छ ।

स्रोतका अनुसार कैलालीमा भएको फुटपरस्त समूहको क्षेत्रीय ब्यूरो बैठकमा कृष्ण पौडेल उपस्थित हुनुभएको थियो । अत्यन्त गोप्य रुपमा गरिएको बैठकले धनगढी भेलाको तयारी गरेको थियो । जसको जानकारी सिमित अगुवाबाहेक अरुलाई दिइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्