२०७५ जेठ ३ पनि बिर्सिनु छैन, १० बुँदे रचनात्मक र सिर्जनात्मक रूपमा कार्यान्वयन हुन्छ : रायमाझी

| २०७८ भदौ १९ गते १५: २४ मा प्रकाशित

काठमाडौँ। नेकपा (एमाले)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले कम्युनिष्टको मूलधार बन्नेतर्फ पार्टी अघि बढ्नुपर्ने बताएका छन् ।

एमाले भित्रको उपाध्यक्ष भीम रावललगायतका नेताहरूको समूहले २०७५ जेठ २ गतेको संरचनाबाट अघि बढ्नुपर्ने बताइरहेका बेला माओवादीबाट एमालेमा प्रवेश गरेका रायमाझीले २०७५ जेठ ३ गते पार्टी एकता भएको कुरा बिर्सिन नहुने बताएका छन् ।

बनेपामा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै नेता रायमाझीले २०७५ जेठ २ को संगठनलाई अगाडि बढाउँदा पार्टी एकताको निरन्तरतामा आएकालाई निषेध गर्ने बताए । उनले एमाले विवाद मिलाउनका लागि असार २७ गते भएको १० बुँदे सम्झौतालाई रचनात्मक र सिर्जनात्मक रूपमा कार्यान्वयन गरिने बताए । 'त्यसलाई पनि रचनात्मक र सिर्जनात्मक रूपले कार्यान्वयन गर्ने कुरा छँदैछ । अनि २०७५ जेठ ३ गते त पार्टी एकता गरेका हौ नि ! त्यो पनि आकर्षित हुन्छ नि त ! त्यसलाई पनि हामीले बिर्सिनुपर्ने छैन,' रायमाझीले भने ।

एमालेलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूल धार बनाउनुपर्नेमा पहल लिनुपर्ने रायमाझीको भनाइ थियो । 'नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको राजनीतिक आन्दोलनको मुख्य शक्ति, मुख्य धार, एक नम्बर धार बन्नु छ । अनि पार्टी एकतामा आएका साथीहरूलाई विस्थापित गरेर त्यो एमाले-एमाले समातेर बस्नु त ?,' रायमाझीको भनाइ थियो, 'हामीले ध्रुविकरणको अभियान, पार्टी एकीकरणको अभियानलाई निरन्तरता पनि दिनु छ ।'

एमालेमा सबै कम्युनिष्टहरूलाई ल्याउनुपर्ने अहिलेको अवस्था रहेको बताउँदै उनले १० बुँदे सहमतिलाई रचनात्मक र सिर्जनात्मक रूपले कार्यान्वयन गर्ने निष्कर्ष निकालिएको बताए । फेरि नेताहरू लड्न थाले एमाले मूलधारको कम्युनिष्ट पार्टी नबन्ने पनि उनको भनाइ थियो ।

अहिले अध्यादेश, जनादेश र परमादेशबारे व्यापक चर्चा भइरहेको र के सही हो र के गलत हो भन्ने छुट्याउनुपर्ने रायमाझीको भनाइ थियो ।

विगतमा नेकपामा कसैलाई पार्टी अध्यक्ष र कसैलाई प्रधानमन्त्री चाहिएकाले अन्तरविरोका साथै अस्वस्थ प्रतिस्पर्धा भएको उनले बताए ।

एमालेका सांसदहरूले नै आफ्नो पार्टी अध्यक्ष र सर्वसम्मत दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रमुख विपक्षी दलको नेतालाई बोकेर प्रधानमन्त्री बनाउने काम गरेको रायमाझीको भनाइ थियो । त्यो हर्कतको जति आलोचना गरे पनि कम हुने उनले बताए ।

'आफ्नै पार्टीका नेता र सांसदले आफ्नो पार्टीका अध्यक्ष, प्रधानमन्त्रीलाई छोडेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउँदै हिड्ने नजीर स्थापना गरे । यो संसारमै नभएको नजीर हो,' रायमाझीले भने । आफ्नै पार्टीका नेता र सांसद विपक्षी दलको नेताको पुच्छर बनेर हिँडेको उनको आरोप थियो ।यो समाचार कान्तिपुर अनलाइन बाट साभार गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्