एमाले पार्टीका विरुद्ध भ्रम फैलाउन खोजिएको छ, यस्ता प्रकारका तिगडमलाई परास्त गरौंः रायमाझी

| २०७८ भदौ २८ गते १२: ४० मा प्रकाशित

रूपन्देही । नेकपा एमालेका स्थायी समितिका सदस्य तथा युवा नेता टोपबहादुर रायमाझीले पार्टीका विरुद्ध फैलाउन खोजिएका भ्रम, षड्यन्त्र र अनेक प्रकारका तिगडमलाई परास्त गर्न युवासंघले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताएका छन ।

युवाहरुलाई रचनात्मक, सिर्जनात्मक र उत्पादनमूलक काममा लगाउन जरुरी रहेको उल्लेख गर्दै नेता रायमाझीले उक्त कामको अगुवाइ राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्ने बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीले परिवर्तनका आन्दोलनको नेतृत्व गरेको युवा पंक्तिले अब निर्माण र रुपान्तरणको आन्दोलनको पनि नेतृत्व गर्ने बेला आएको बताए ।

विकृति, विसंगति र अनेक प्रकारका बेथितिमा फसेका युवाहरुलाई सुधार्नका लागि युवा संघमा आवद्ध गराउनुपर्ने र तिनीहरुसमेतको सहकार्यमा समृद्धिको अभियान सञ्चालन गर्न सकिने नेता गिरीको भनाइ थियो ।

राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले कार्यतालिका नै बनाएर देशव्यापी अभियानको तयारी भएको भन्दै युवाहरुलाई राष्ट्रिय युवासंघमा गोलबद्ध गराउन मातहतका कमिटीहरुलाई आग्रह गरे ।

राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी इन्चार्ज सुमन पुरीले युवासंघले देश विकास, रुपान्तरण र समाज सुधारका कामको समेत नेतृत्व गर्ने उल्लेख गर्दै त्यसका लागि सबै युवाहरु थप जिम्मेवार र अनुशासित भएर प्रस्तुत हुनुपर्ने बताए ।

युवाहरुलाई जागरुक बनाउने, नेतृत्व तहमा स्थापित गराउने, स्वरोजगार बनाउने, देशमै रोजगारीका अवसरहरु सिर्जना गराउने र हरेकलाई कुनै न कुनै उत्पादनमूलक क्षेत्रमा सरिक बनाउने गरी राष्ट्रिय युवा संघ नेपालले विशेष योजना बनाइरहेको जानकारी दिए ।

राष्ट्रिय युवासंघ नेपाल प्रदेश कमिटी लुम्बिनीका अध्यक्ष तथा केन्द्रीय सचिव तुलबहादुर अधिकारीको अध्यक्षतामा बसेको प्रथम पूर्ण बैठकमा संघका केन्द्रीय नेता तथा लुम्बिनीका सहइन्चार्ज रबिन्द्र लम्साल, केन्द्रीय सचिव गोविन्द भुसाल, स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज केशव रोका, केन्द्रीय सदस्य केन्द्रीय लेखा आयोगका पूर्वसचिव तेजेन्द्रबहादुर पाण्डे, युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, उपाध्यक्ष विकासजंग बस्नेतलगायतका युवा नेताहरुले अभियानका बारेमा जानकारी गराएका थिए ।

बैठकले राष्ट्रिय युवासंघ नेपालले बाँकेमा बृहद् युवा भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

प्रदेश कमिटीको आयोजनामा लुम्बिनी प्रदेशमा राष्ट्रिय भेला, प्रदेशस्तरमा विस्तारित भेला, सबै जिल्ला कमिटी र मातहतका पालिकाहरुमा युवा संघको कार्यकर्ता भेला हुने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको लुम्बिनी प्रदेश कमिटीको बुटवलमा बसेको प्रथम विशेष बैठकले संगठन सदृढीकरण र विस्तार अभियानलाई एकसाथ सञ्चालन गर्ने निर्णय गरेको संघका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी दिए ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका राष्ट्रिय युवा संघका जिल्ला कमिटी अध्यक्षहरु, जिल्लाबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु र प्रतिनिधि सहभागी रहेको बैठकले संगठन सुदृढीकरण, विस्तार र प्रशिक्षणका अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए !source- khabarbreaking.com

प्रतिक्रिया दिनुहोस्