३३ किलो सुन काण्डमा चुडामणि उप्रेती "गोरेलाई" जन्मकैदको सजाय

| २०७८ असोज १२ गते १५: २६ मा प्रकाशित

काठमाण्डौ। साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको  सजाय सुनाएको छ।मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो।     

साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४  फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको थियो। 

जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस भएको थियो।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाइ न्यायाधीश  लम्सालको इजलास भएको थियो।

उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत २ जना तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ। 

उक्त मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ।

सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ। 

सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन्। प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन्।

को हुन् गोल्ड डन भनिने गोरे

मोरङको उर्लाबारीका गोरेलाई नेपालमा हुने सुन तस्करीको डन अर्थात् ‘गोल्ड डन’ पनि भनिन्छ। नेता, व्यापारी र प्रहरी उच्च अधिकारीसँगको सम्बन्धका आडमा उनले सुन तस्करी गरिरहेका थिए।

मध्यम वर्गीय परिवारमा जन्मिएका गोरेका बाबु नेपाल प्रहरीका सहायक निरीक्षक थिए।

सुन तस्करीमा लाग्नुभन्दा पहिला उनी दुबई प्रहरीमा जागिरे थिए। त्यही क्रममा दुबईका सुन माफियासँग उनको सम्बन्ध गाँसियो।

केही समयपछि गोरे नेपाल फर्किए।

उच्च तहका नेतासँग हिमचिम बढाउन थाले। उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महंगा उपहार दिए।

स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।  स्थानीय चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएको थिए।

लामो समयदेखि अवैध सुनको कारोबार गर्दै आएका उनी त्यही सम्बन्धका आडमा उम्किँदै  पनि आएका थिए।

०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको ३३ किलो अवैध सुनका मालिक गोरे नै भएको भरिया र अन्य अभियुक्तले बयान दिएका थिए। उच्च पहुँचकै भरमा त्यतिबेला गोरेको ठाँउमा अन्य केही व्यक्तिलाई कारबाही गरेर उनलाई उम्काइएको स्रोतको दाबी छ।

सिआइबीले सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुई मुद्दा दायर गरेको थियो। मुद्दामा १५ करोड ४० लाख चार हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महसुल र एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरी कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको बिगो बमोजिम जरिवाना र बिगो जफतको दाबी माग गरिएको थियो।

उनी खुलमखुला काठमाडौंमा हिँडिरहेका थिए प्रहरीले भने सो मुद्दामा गोरेलाई फरार भनेको थियो।

स्रोतका अनुसार त्यतिबेला गोरेकै डिजाइनमा पक्राउ परेका भरियासँग कनेक्सन भएका मानिसलाई पनि मुछियो।

‘गोरेले जसको नाम दिए उनैलाई मुख्य अभियुक्त बनाइयो जसको भरियासँगै अन्य कारणले टेलिफोन कनेक्सन थियो, सुनसँग थिएन,’ स्रोतले भन्यो।

तस्करीको सुनको मालिक भनेर पोलेका गोरे पहुँचकै भरमा सामान्य कारबाहीबाट उम्केपछि उनको मनोबल बढ्यो। अवैध सुन नेपाल भित्र्याउने क्रम झनै बढ्यो।

फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि गोरेले सुन लुकाएको आशंकामा आफ्ना मुख्य सहयोगी शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर यातना दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए। उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो।

सुनसरीमा शव फेला पारे पनि महाशाखाको टोलीले मोरङमा लगेर शवको बरामदी मुचुल्का बनाएको स्रोतले बतायो।

प्रहरीकै सूचनाका आधारमा गोरे भागेर भारत पुगेका थिए।स्रोत - सेतो पाटि 

 

प्रतिक्रिया दिनुहोस्