पूर्व माओवादीबाट यी ३ नेताले पाए एमालेमा पदाधिकारी, कुन पदमा को ?

| २०७८ मंसिर १३ गते ०५: ५४ मा प्रकाशित

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा पूर्व माओवादी पक्षका ३ नेताले पदाधिकारी पाएका छन् ।

नेकपा विभाजन हुँदा माओवादी छाडेर एमालेतिर लागेका रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष तथा टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिव प्रस्ताव गरिएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउने अधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमवार बिहान साढे ३ बजे पदाधिकारीमा प्रस्ताव गरेका छन् ।

आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारीमा आफ्नो नेतृत्वमा टीम घोषणा गरेका हुन् । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले पनि दावी गरेका थिए । ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेललाई प्रस्ताव गरेका छन् ।

प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई उपमहासचिव प्रस्ताव गरेका छन् । टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिवमा प्रस्ताव गरेका छन् । 

भीम रावलले उपाध्यक्षमा बस्न अस्वीकार गरेको ओलीले बताए । उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसाल ओलीको टिममा अटाएका छैनन् । यसअघि सचिव रहेका भीम आचार्य रिङआउट भएका छन् । 

पदाधिकारी प्रस्ताव गरेर ओलीले सोमवार बिहान ९ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेका छन् । ओलीको प्रस्तावलाई लिएर व्यापक असन्तुष्टि देखिएको छ । 

बिहान ९ बजेपछि निर्वाचन कार्यक्रम शुरू हुने भएको छ । ओलीले पदाधिकारी प्रस्ताव गर्नुअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए ।source- lokaantar.com
 

प्रतिक्रिया दिनुहोस्