नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी

| २०७८ मंसिर १४ गते १५: २१ मा प्रकाशित

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन् । दुवैबीच १७ सयभन्दा बढी मतान्तर देखिएको छ ।

ओलीले दोस्रोपटक अध्यक्ष निर्वाचित हुँदा एमाले फुटिसकेको छ । उनका पुराना सहकर्मीहरु पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल छैनन् । उनीहरुले नेकपा एकीकृत समाजवादी पार्टी खोलिसकेका छन् ।

पूर्व उपप्रधनमन्त्री बामदेव गौतम पनि एमालेमा छैनन् । उनी कुनैपनि दलमा आवद्ध नभई पर्ख र हेरको रणनीति बनाइरहेका छन् ।

ओली यसअघिको महाधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । उनले त्यतिबेला माधवकुमार नेपाललाई कडा प्रतिपर्धामा झीनो मतान्तरले हराएका थिए ।

यसपटकको महाधिवेशनमा माधव नेपाल एमाले फुटाएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेर अध्यक्ष बनेका छन् । उक्त दलमा नेपालका अलावा एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल पनि छन् ।

। ओलीले आफ्ना पुराना सहकर्मी तथा प्रतिष्पर्धीहरु माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमविना नै एमालेमा पकड बढाएका छन् । तर, उनको सर्वसम्मत अध्यक्ष बन्ने चाहनामा भीम रावल बाधक बने ।

रावलले अध्यक्षमा उम्मेदवारी दिएर ओलीलाई चुनौती दिए । हार्ने जान्दा जान्दै उम्मेदवारी दिएका रावलले सम्मानित मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्