वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ : गगन थापा

| २०७८ माघ १० गते १७: १८ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिए । 

‘स्थानीय तहको सन्दर्भमा पाँच वर्षको अवधि हुने र स्थानीय तहको रिक्तता नहुने नहुने भन्ने कुराको संविधानमा स्पष्ट छ,’  उनले रातोपाटीसँग भने, ‘त्यो नै आजका दिनमा हामीले अनुसरण गर्ने बाटो हुनुपर्छ ।’ ​ कानुनको कुनै छिद्र देखाएर वैशाखको निर्वाचन सार्ने कोसिस गरिए दीर्घकालमा ठूलो क्षति पुग्ने उनको भनाइ छ । 

‘वैशाखको निर्वाचन सार्ने वा कानुनको कुनै छिद्र देखाएर हामीले आफ्ना तात्कालिक स्वार्थहरुलाई पुरा गर्ने कोसिस गरौं भने दीर्घकालमा ठूलो क्षति पुर्याउँछ,’महामन्त्री थापाले भने । काँग्रेसले यो बेलामा संविधानको मर्म अनुसार स्थानीय चुनाव तत्काल गरिहाल्नु पर्नेमा थापाको जोड छ

​‘सत्तारुढ गठबन्धनमा वैशाखमा स्थानीय तहको चुनाव सार्ने खोजिएको कुरा मैले बाहिर सुनिरहेको छु,’ उनी भन्छन् ‘संविधान र कानुनले देखाएको बाटोभन्दा फरक निर्णय किन गर्ने भन्ने नेतृत्वले औचित्य पुष्टि गर्नुपर्छ ।’ 

महामन्त्री थापाले पार्टी नेतृत्वले संविधान र कानुनभन्दा फरक गएर गरेको निर्णय गरेर औचित्य पुष्टि गर्न खोजेपनि आफूलाई मान्य नहुने बताए । थापाले भने, ‘म मेरो पोजिसनमा छु । कसैले पुष्टि गरे पनि मान्दिनँ । यो मेरो कुरा भयो । म यो राखिराख्छु । त्यो कुरामा म रहन्छु ।’ 

यस्तै थापाले  स्थानीय तहको निर्वाचनका सन्दर्भमा तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने बताए ।  ‘पार्टीले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पोजिसन लिने हो भने तत्काल केन्द्रीय समितिको बैठकबाट छलफल गर्नुपर्यो नि ! जसबारे भोलि सिंगो पार्टीले उत्तर दिनुपर्छ । यो विषय पार्टीका दुई तीन जना नेता बसेर गरेर हुन्छ ?,’महामन्त्री थापाको प्रश्न छ ।

सामाजिक दुरी कायम गरेर भएपनि तुरुन्त पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्ने थापाले बताए । ‘पदाधिकारी सदाधिकारी होइन । अब केन्द्रीय कमिटी बैठक बस्नुपर्छ । जस्तो अप्ठ्यारो परे पनि बैठक बस्नुपर्छ । सामाजिक दुरी कायम गरेर भएपनि तुरुन्त पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय समितिको बैठकमा यस विषयबारे छलफल हुनुपर्छ । भर्खर महाधिवेशनबाट आएका केन्द्रीय सदस्य साथीहरुले कुरा राख्न पाउनुपर्छ ।’ 

कोभिड–१९ लाई बहाना बनाएर केन्द्रीय समिति बैठक नराखि स्थानीय तहको चुनाव सार्ने निर्णय गरिए पार्टीले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताए । ‘अब कोभिड–१९का बीचमा नै बैठक राख्नुपर्ने अवस्था आयो । कोभिड छ बैठक बस्न सकिएन । बैठक बस्न नसकिएकाले गर्दा निर्णय गरियो भने पार्टीले धेरै ठूलो मूल्य चुकाउनुपर्छ,’ थापाले भने ।रासस 

प्रतिक्रिया दिनुहोस्