प्रहरीको मोटरसाइकल चढेर फरार भएका कैदी एक महिनापछि पक्राउ

| २०७८ माघ १० गते १७: ३८ मा प्रकाशित

काठमाडौं। प्रहरीको मोटरसाइकल चढेर फरार भएका कैदी एक महिनापछि पक्राउ परेका छन्।

जिल्ला कारागार कार्यालय घोराही दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेको अवस्थामा फरार भएका कैदी २९ वर्षीय यमराज परिवारलाई दाङ प्रहरीले एक महिनापछि पक्राउ गरेको हो।

दाङको राजपुर गाउँपालिका-३ का परियार पुस ८ गते बिहान ११ बजेतिर प्रहरीकै मोटरसाइकल चढेर फरार भएका थिए। छालासम्बन्धी बिरामी भइ उपचारका लागि जाने क्रममा घोराही बजारको बीपी चोकमा रहेको थकाली भान्सा घर एण्ड लजमा गइ खाजा खाने क्रममा उनी प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए।


उनलाई अस्पताल पुर्‍याउन खटिएका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिइ उनी फरार भएका थिए। उनलाई नेपाल-भारतको सीमा क्षेत्र नेपालगञ्‍ज उपमहानगरपालिका-१५ जमुनाह नाकाबाट सोमबार पक्राउ गरिएको हो।

परियार २०७२ भदौ १६ गतेदेखि कैद भुक्तान गर्दै आएका थिए। कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद तोकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाइ कैद सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्