एमालेको बीऊ नै रहेन जुम्लामा : सबै एकीकृत समाजवादीमा प्रवेश

| २०७८ माघ १० गते २०: १४ मा प्रकाशित

काठमाडौं ।माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पकड बलियो बनाउदै लगेको छ ।

यही क्रममा जुम्ला जिल्लाको पूरै एमाले नेकपा एकीकृत समाजवादीमा विलय भएको छ । कुल ६१ जना जिल्ला समिति सदस्यमा ५८ जना एकीकृत समाजवादीतिर ढल्किएका हुन् ।

दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्यले मात्र एमालेमै बस्ने निधो गरेसँगै एमालेको पूरै भाग एकीकृत समाजवादीमय भएको हो ।नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु मात्रै रहेको बताइएको छ ।

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन् ।

यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् ।धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यसअघि निष्काशन गरिसकेको थियो ।

योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।

०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १, उपाध्यक्षमा १ र १७ वटा वडामा वर्चश्व कायम गरेको थियो ।जसमध्ये अध्यक्ष जितेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको रातोपाटीलाई जानकारी दिए ।यस्तै उनको वडा तहका जितेका वडा–३ वडामा कालीबहादुर रावत, ३ मा सिंह बुढा, ४ मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।

१७ जनामध्ये ८ जना वडा अध्यक्ष एमालेमै रहेका छन् भने ३ जनाले अहिलेसम्म प्रष्ट धारणा बनाएका छैनन् । यस्तै बाँकी ६ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

उपाध्यक्षमा जितेकी सिंजा गाउँपालिकाकी जन्मकन्या खत्री यसअघि एमालेमै रहेकी थिइन् । यद्यपि, उनी एकीकृतमा खुल्ने मनसाय बनाएको समाजवादीले दावी गरेको छ ।

चन्द्रनाथ नगरपालिकाका –६ को अध्यक्षमा अजबहादुर रावल, ७ मा नरविर रावल, ८ नरजित दमाई, तालोपानी गाउँपालिका–४ को अध्यक्षमा धीर जैसी, ८ मा कृण्णबहादुर शाही लगायत वडाअध्यक्षहरूले समाजवादीमा सनाखत गरिसकेका छन् ।

एकीकृत समाजवादीमा पूरै एमाले रुपान्तरित भएसँगै एमालेमा सन्नाटा छाएको छ र ठूलो झड्का लागेको छ ।

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुँदैछ । निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन ।”

आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा आचरणहरु पालना गर्न÷गराउन सबैसँग अनुरोध गरेको छ ।

यसैबीच उक्त निर्वाचनका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदान गर्न सकिने छ ।

आयोगका अनुसार स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ ।

नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि निर्वाचन हुन लागेको हो ।source- sadaksanchar.com

प्रतिक्रिया दिनुहोस्