कुमारजी आज्ञा गर्नु हुन्छ- ‘हे अगस्त्य मुनि! विष्णु भगवान् संग्रामबाट अन्तर्ध्यान भएपछि बाँकी बचेका देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबै हाहाकार गरेर दस दिशातिर भागे। ती परस्पर भन्दथे- अब दक्षप्रजापतिको प्राण रहन्न किनकि नारायण जस्ताको सुरर्शन चक्र मिथ्या भयो, जुन चक्र लिई विष्णु खडा हुँदा स्वयं शिव पनि टिक्न सक्तैनथे, त्यस्ता नारायण पनि भागे। अब हाम्रो क्षुद्र पराक्रमले के होला! तस्मात् अब आफाफ्नू प्राण रक्षा गर्नु नै उचित हो भन्दै दस दिशा भागे। नारायण सहित देवता, यक्ष, गन्धर्व, नाग आदि आफाफ्नू जीवन बचाई भागेको देखी वीरभद्र नागले झैं नि:श्वास फेरी, वर्षा-कालको मेघ झैं गर्जी तत्काल दक्षको टुपी समाती भूमीमा ढलाई बोध गराए- हे पापिष्ट दक्ष! तैंले महादेवको अनेक निन्दा गरिस्। आफ्नी छोरीको हत्या गरिस्। तँ जस्तो पापी यस संसारमा खोजे पनि पाइन्न। त्यो बौलाहा हो, उसलाई नडाके मलाई के होला भनी त्रिलोकका ईश्वरको निन्दा गरिथिस्, अब यस बखतमा तरा रक्षक ज्वाइँहरु कता गए? तिनीहरुको सहायता मागी आफ्नू प्राण बचा। तेरो यज्ञ बिन शंकर नै पूरा गराउन्। अब तँलाई पनि यही यज्ञमा होम्नसके हामीलाई सन्तोष होला। भनी अनेक तरहले बोध गराई दक्षप्रजापतिको शिर काटेर अग्निकुण्डमा होमिदिए। यस्ता प्रकारले दुष्ट संहार गरेको देखी न्दी, भृङ्गी, चतु:षष्टी योगिनी, भूत-प्रेत, विषमज्वर र महाकाली आदिले प्रसन्न भई- शिव-निन्दक दक्षप्रजापतिको नाश गर्यौ, धन्य-धन्य वीरभद्र! तिमी समान वीर यससंसारमा हुन दुर्लभ छ भनी स्तुति गरे। त्यस पछि दक्षप्रजापतिकी स्त्री विरणीले आफ्ना पतिको शिर यज्ञकुण्डमा होमिदिएको देखेर अत्यन्त अधैर्य भई ठूलो हावा चल्दा केराको थाम ढले झैं पृथ्वीमा ढली मूर्च्छा परिन्। केही बेरमा चेष्ठा आयो र शोक गर्न थालिन्- हे नाथ! मलाई यस अवस्थामा अनाथ तुल्याई कता गयौ? जगदीश्वर महादेवलाई यज्ञमा नडाक्ता यस्तो भयो। हे मूढ! व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयौ, मेरो यो गति भयो, भनी अनेक प्रकारले शोक गरेर वीरभद्रसित प्रार्थना गरिन्- हे ईश्वर! मेरा पनि दक्षप्रजापति अज्ञानी, मूढ र अभिमानी पनि हुन्। तिनलाई कुनै चेष्टा पनि थिएन। त्यस्ता मूढको नाश गरी हजुरको के कीर्ति होला मलाई विधवा नतुल्याई स्वामी वरदान दिनु हवस्। हे वीर! आफ्नू सृष्टि आफैंले संहार गर्नु अनुचित हो। सृष्टि-स्थिति-संहार गर्ने महारुद्र पनि तिमी महादेव पनि तिमी। आदि मध्य अन्त्य नभएका ब्रह्मा, विष्णु, शिव जे भने पनि तिमी नै हौ। हे भक्तवत्सल! मेरो मुख हेरी मेरा स्वामीको सबै अपराध क्षमा गरेर जीवन दान दिई सौभाग्यवती बनाउनु हवस् भनेर स्तुति गरेको इन्द्रादि देवताहरुले सुनी आकाशबाट पुष्प वृष्टि गरी- ‘हे वीरभद्र! दक्षप्रजापतिलाई जीवनदान दिई विरणीलाई सन्तोष दिनुहवस्’ भनी आकाशवाणी गरे। देवताहरुले त्यस्तो आग्रह गरेको र विरणीको चिन्तित अनुहार देखेर मनमा करुणा उत्पन्न भयो र विरणीतर्फ हेरी वीरभद्रले भने- हे विरणी! तिम्रो स्तुतिले म प्रसन्न भएँ र तिमीलाई स्वामी वर दिन्छु र तिम्रो स्वामिको शिर मैले अघि नै अग्निकुण्डमा होमिसकें। अब यज्ञमा बलि दिएको बोकाको शिर जोरेर जीवित पारिदिन्छु, किनकि दक्षले जगदिश्वरको सार्है निन्दा गर्यो, अत: यो पशु हो, यसैले पशुकै टाउको जोरिदिन्छु। यस्तो वीरभद्रको वचन सुनी विरणीले ‘हुन्छ’ भनी अंजलि जोरी उभिइरहिन्। अनि वीरभद्रले यज्ञशालाबाट बोकाको शिर मगाई पछिल्तिर मुख फर्काएर जोरी दक्षप्रजापतिलाइ जिलाइदिए। दक्षप्रजापति जीवित भएपछि विरणीले मनमा सन्तोष मानी छाग-मुख अर्थात बोकाको टाउको भएका स्वामीसहित वीरभद्र र महाकालीलाई दण्डवत् प्रणाम गरी आफ्नू घर गए।
यता वीरभद्र र महाकाली पनि देवता, यक्ष, गन्धर्व, किन्नर आदिको संहार गरी, दक्षको यज्ञ विध्वंश पारी नन्दी, भृङ्गी, चतु:षष्टी योगिनी, भूत-प्रेत, प्रमथगण समेत त्यहाँबाट अन्तर्ध्यान भई कैलाशमा पुगी शिवजीलाई दण्डवत् प्रणाम गरेर- हे ईश्वर! हजुरको आज्ञा अनुसार दक्षको यज्ञ विध्वंश पारी देवता, यक्ष, गन्धर्व र उसका समस्त रक्षक मारी दक्षको शिर छुट्याई अग्निकुण्डमा होमिसकेपछि उसकी स्त्री विरणीले आफ्ना स्वामी मेरेको देखी सार्ह्रै दीन भावले विलाप गर्न लागिन्। त्यो देखेर मैले अग्निकुण्डमा बलि दिएको बोकाको शिर ल्याएर पछाडि मुख फर्काई जोरेर दक्षप्रजापतिलाई जिलाई आएँ भनी बिन्ती गरे र महादेव प्रसन्न भई- ‘हे वीरभद्र! महाकाली! तिमी धन्य रहेछौ, म प्रसन्न भएँ’ यति भनी ती दुवैलाई आफ्नू शरीरमा लीन गराए। त्यसपछि महादेवले प्राणप्रिया सतीलाई सम्झी दक्षप्रजापतिले यज्ञ गरेको स्थानमा पुगेर हेर्दा अग्निकुण्डमा सुतिरहेकी सतीदेवीलाई देखी ‘हा सती! कैलास शून्य तुल्याई मलाई एक्लै छाडेर कता गयौ? भन्दै सार्है नै अधैर्य भइ वृक्ष ढले झैं भूमिमा लडी मूर्च्छा परे। कही बेरमा चेत आयो र- ‘हे प्यारी! अब मैले यस संसारमा बाँच्नु पनि व्यर्थ भयो। मलाई एक क्षण पनि एक्लै नछाडी मेरै मुख्यांजी बसेर मैले भनेका कथा पुराणहरु सुनिरहन्थ्यौ, मेरो वचन नमान्दा तिम्रो यो गति भयो, म यस स्थितिमा पुगें, भन्दै मुड्कीले छाती ठोकी, वर्षाकालमा आकाशबाट पानी परे झैं मोतिका दाना जस्ता आँसुका ढिका खसाली फेरि विलाप गर्न लाग्नुभयो- ‘हे प्रिये! म कतै गएर आउँदा सुनको कमण्डलु लिई गोडा धोइदिन आउँथ्यौ। हे प्यारी! मेरो खाने वस्तु भनेर विष, भाङ, धतुरो- मेरो स्वामीले खाने वस्तु भनेर जतन गरी राख्दथ्यौ, अब को राखिदेला! तिमी बिना मेरो चित्त कसरी स्थिर रहला?’ यसरी भन्दै कहिले काखमा लिने, कहिले अंकमाल गर्ने, कहिले म्वाइँ खाने, कहिले छातीमा हात राख्ने, कहिले सतीदेवीको हात समाई आफ्नू छातीमा राख्ने, यसरी अनेक प्रकारका शोक गरी सतीदेवीको मृत शरीर पिठिउँमा बोकी बौलाहा जस्तै भएर पृथ्वी भ्रमण गरी हिंडे। महादेवले पीठमा बोकेकी हुनाले गलित वा दुर्गन्ध केही भइनन्। केवल निदाए जस्ती भएर रहिन्।
इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां महादेवपृथ्वीभ्रमणवर्णनं नाम अष्टमोऽध्याय श्री स्वस्थानी परमेश्वरीकी जय ! जय ! जय ! ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय श्रीमान् दिनकर–किरण निबोधित–नव– नलिनदलनिभेक्षणः श्रीकृष्णः ।। काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी । देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।। अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः । निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च । तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसंग ।। या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना । या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।। कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् । करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।। अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् । समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।। ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।। भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता । सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
प्रतिक्रिया दिनुहोस्