दुइटा डुंगामा खुट्टा राख्ने प्रचण्डको राजनीति फेरि पनि चिप्लियोः एमाले सचिव रायमाझी

| २०७८ फागुन १६ गते २२: २१ मा प्रकाशित

काठमाडौं, १६ फागुन । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीति फेरि पनि चिप्लिएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले सचिव रायमाझीले भने, “एमसीसी विगतका ६ वटा सरकारले निरन्तरता दिएको सम्झौता हो । प्रचण्डले बिहान, दिउँसो र राति नानाथरीका कुरा गरेर जनतालाई झुक्काए । बेबकुफ बनाए । बेइमानी गरे । कहिले एमसीसी पास गर्छु भनेर चिठी लेख्ने त कहिले कार्यकर्तालाई सडकमा ढुंगामुढा गर्न पठाउने । दुइटा डुंगामा बसेपछि राजनीति चिप्लिन्छ ।”

प्रचण्डले पहिलेदेखि नै द्वैध नीति लिने गरेको उनले खुलासा गरे । रायमाझीले भने, “यो प्रचण्डको पहिलेदेखिकै बानी हो । द्वन्द्वकालमा कहिले राजासँग मिल्नुपर्छ भन्ने, कहिले दलसँग मिल्नुपर्छ भन्ने । शान्तिप्रक्रियामा आइसकेपछि पनि मुखमा चुनाव भन्ने, मनमा विद्रोह भन्ने । अहिले पनि प्रचण्डले हाम्रा अध्यक्ष केपी ओलीलाई देउवाले धोका दिए, तपाईं प्रधानमन्त्री बन्नुस् भनेका होइनन् ? लोभीपापीको झुन्ड लिएर अन्त्यमा गठबन्धन बचाउन र सरकार टिकाउनका लागि अहिले यस्तो हर्कत गरे । अनि यो देशको समृद्धि कसरी हुन्छ ?”

एमसीसी टेबुल गर्नुभन्दा सहिद हुन तयार छु भन्ने सभामुख अग्निप्रसाद सापकोटा किन लुत्रुक्क परे भनी रायमाझीले प्रश्न गरे । उनले भने, “सभामुख अग्निप्रसाद सापकोटाले पार्टी कार्यकर्ताको भूमिका निर्वाह गरे । मलगायत ४ जना सांसदलाई रातारात सूचना टाँगेर हटाए, एमालेका १४ सांसदलाई अहिलेसम्म सूचना टाँगेनन् । एमसीसी टेबुल गरे सहिद बन्न तयार छु भन्ने उच्छृंखल र उग्र कुरा गर्ने सभामुख किन लत्रुक्क परेर एमसीसी टेबुल गरे ?”

तपाईं त एमसीसीको पक्षधर नै होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा एमाले सचिव रायमाझीले भने, “सभामुखको भूमिकाका कारण संसद्को प्रक्रियामा हामी सहभागी हुन पाएनौं । तावा तात्यो भने रोटी पाक्छ, बिँड तात्यो भने हात पोल्छ । म ऊर्जामन्त्री हुँदा, रिपोर्टर्स क्लबमा बोल्दा मैले एमसीसी सडक र ऊर्जाको विकासका लागि हो । कि सहमतिमा लागू गरौं कि खारेज गरौं भनेकै हुँ । ढिला नगरौं, वारपार गरौं भनेको हुँ । त्यसमा पक्ष र विपक्षको के कुरा छ र ?”source- ww.reportersnepal.com

प्रतिक्रिया दिनुहोस्