प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्‍योः टोपबहादुर रायमाझी

| २०७८ फागुन ३० गते १७: २५ मा प्रकाशित

काठमाडौं, ३० फागुन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले म्युजिक भिडियो बनाउने गायक प्रकाश सपुतलाई धम्की दिनुभन्दा आफ्नो गल्ती स्वीकार गरी धन्यवाद दिनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “प्रकाश सपुतले तयार पारेको सांगीतिक कथाले एकदमै सही कुरा बोलेको छ । जनयुद्धले ठूलो परिवर्तन र जागरण ल्यायो । तर जनयुद्धका नायक बनेका घाइते, अपांग, सहिद परिवारको व्यवस्थापन नगर्दा माओवादी विसर्जनको स्थितिमा पुगेको छ । हामीले उनीहरुको उचित व्यवस्थापन गर्नुपर्छ भन्दा लोभीपापी झुन्डले बेवास्ता गर्यो । अब एउटा भिडियोको लोभीपापीले विरोध गर्नुको कुनै अर्थ छैन । धम्की दिनेभन्दा पनि धन्यवाद दिनुपर्यो ।”

आगामी निर्वाचनमा नेकपा एमालेले कुनै गठबन्धन नगर्ने पनि उनले स्पष्ट पारे । रायमाझीले भने, “अरुसँग तालमेल गर्ने कुनै तयारी छैन । एमाले आफ्नो एजेन्डा बोकेर अघि बढ्छ । एमाले जनताको बीचमा एक्लै जान्छ । र, लोभीपापीको झुन्ड धराशायी हुन्छ । त्यसैले एमालेको लहर देखेर उनीहरु तर्सिएका छन् ।”
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग गठबन्धनको गम्भीर भूल र बदमासी भएको उनले बताए । उनले भने, “जुन प्रधानन्यायाधीशमार्फत परमादेश जारी गरी सरकार बनायो, उसैलाई महाभियोग लगाउनु गठबन्धनको भूल र बदमासी हो । यसमा एमालेले साथ दिँदैन ।”

प्रतिक्रिया दिनुहोस्