एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ : विप्लव

| २०७८ चैत १७ गते १९: ०० मा प्रकाशित

काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ ।’

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफुहरु प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए । उनले एमसीसीका पक्षधरहरुलाई दलाल पुँजीपति वर्गको संज्ञा दिँदै उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पु¥याउनुपर्ने बताए ।

उनले भने– ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ । एउटा ध्रुवीकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ । प्रयोग भइरहेको छ । नेपाल ध्रुवीकरण हुँदैछ । देशभक्त र देशघातीहरुको बीचमा । राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा । दलाल र स्वाभिमानी नागरिकको बीचमा एउटा ध्रुवीकरण हुँदैछ । यो प्रक्रियालाई हामीले तिव्रता दिनुपर्छ ।’ 

उनले भने, ‘हामीले यो अभियान गाउँ–गाउँसम्म पुर्याउनुपर्छ । र हाम्रो पार्टीको सोचाइ छ की यो लडाइँमा पनि हामीले प्रगतिशील शक्तिहरूलाई, देशभक्त शक्तिहरूलाई, क्रान्तिकारी शक्तिहरूलाई एकतावद्ध गराउन गाउँसम्म जानुपर्छ र राष्ट्रघाती, एमसीसी पक्षधर, देश बेचेर खाने या देशलाई संसदबाट आफ्नो एकाधिकार जसरी बेच्न खोज्ने दलाल पुँजीपति वर्गको विरुद्धको लडाइँमा गाउँसम्म पुर्याउनुपर्छ र  एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ ।’ 

उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताए ।  उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरू पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाई छ ।स्रोत - रातो पाटि 

प्रतिक्रिया दिनुहोस्