एकीकृत समाजवादीको उपाध्यक्षका उम्मेदवारलाई जम्मा १ भोट

| २०७९ जेठ १ गते १८: २४ मा प्रकाशित

 बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए । नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भयो ।

उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सत्तारुढ दलबीच जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि स्थानीय स्तरमा सहमति विपरीत नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए ।

उपाध्यक्षमा चार जनाको प्रतिस्पर्धा भएकोमा नेपाली कांग्रेसकी हिराकुमारी छन्त्यालले २७ सय ६८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९ सय ५८ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टीकी गीता घर्तीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेकपा एकीकृत समाजवादी बागलुङका प्रचार विभाग प्रमुख शालिकराम शर्माले मतदानको दुई दिनअघि मात्र आफूहरुले उपाध्यक्षमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेको बताए । यद्यपि एकीकृत समाजवादीले उपाध्यक्षलाई समर्थन गरेको भनी सार्वजनिक जानकारी गराएको थिएन ।
यस पालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका जोकलाल बुढा २७ सय ७ मतका साथ निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार देवबहादुर पुनले १९ सय ९५ मत प्राप्त गरे ।

सत्तारुढ गठबन्धनको सहमति अनुसार उपाध्यक्षमा एकीकृत समाजवादीका शिर्पालीले उम्मेदवारी दिए पनि स्थानीय स्तरमा कार्यकर्ता असन्तुष्ट भएको भन्दै कांग्रेसले आफ्नै उम्मेदवार उठाएको थियो ।स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्