बालेन शाहमाथि हर्क साम्पाङको निरन्तर प्रहार !

| २०७९ भदौ ३ गते ०९: ४५ मा प्रकाशित

धरानका मेयर हर्क साम्पाङको चर्चा स्थानीय तह निर्वाचन यता चुलिएको हो । उनको चर्चा चुलिनुको कारण हो–स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा सनसनीपूर्ण जित । त्यसयता निरन्तर चर्चामा रहेका साम्पाङ सामाजिक सञ्जालमा खरो टिप्पणी गर्छन् । उनले आफ्ना कामको विवरणदेखि चित्त नबुझेको कुरासमेत सामाजिक सञ्जालमार्फत नै पोख्ने गरेका छन् ।  उसो त मेयर फेसबुकमा हल्का भएको भन्दै उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । 

हालै काठमाडौंमा आएर धरान फर्किएका उनले फेसबुकबाटै काठमाडौ महानगरपालिका लक्षित टिप्पणी गरे । जुन टिप्पणी काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहप्रति लक्षित थियो । यतिसम्मकी उनले बालेनको आलोचना गर्दै पछिल्लो दुई दिनमा निरन्तर लेखिरहेका छन् । 
काठमाडौं महानगरपालिकामा बालेन शाह स्वतन्त्रबाट निर्वाचित भए–लौरो चिह्न लिएर । यसरी नै विजयी भएका हुन् हर्क पनि उही चुनाव चिह्न लिएर । विशेषगरी काठमाडौंको फोहोर व्यवस्थापनमा भएको कमजोरी र बालेन शाहले काम गर्न नसकेकोप्रति उनको कटाक्ष छ । फेसबुकमा बुधबार एक स्टाटस लेखे । जसमा लेखिएको थियो– ‘जसले जे भनोस्, तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कमसेकम काम त शुरु गरे ! केही दिनअघि उनले काठमाडौंको बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो भन्दै व्यङ्ग्य गरेका थिए । उनले भनेका थिए, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डाखुल्डी बाटो भएपनि धरानै सफा लाग्यो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

आफ्नो स्टाटसकै बलमा काठमाडौंमा फोहोर उठ्न थालेको भन्दै उनले टिप्पणी गरेको विषयलाई बालेन शाहले सकारात्मक रुपमा लिएनन् । उनले हर्कलाई कमेन्ट गर्दै तितो पोखे र भने, ‘हो नि, तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ।’

बालेनको यो टिप्पणीपछि स्वतन्त्रहरु आपसमै बाझाबाझमा उभिएको भन्दै समाजिक सञ्चालमा चर्चाको विषय बन्यो । भलै पछि बालेनले यो कमेन्ट हटाएका छन्, जुन हर्कको कमेन्ट बक्समा देखिँदैन ।’ तर, बालेनको टिप्पणीपछि हर्क आक्रोशित बन्दै लगातार उनीप्रति कटाक्ष गरिरहेका छन् । बुधबार नै उनले ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’ भन्दै कटाक्ष गरे । त्यतिमा मात्रै उनी रोकिएनन् फेसबुकमा अर्को स्ट्याटस लेख्दै उनले देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न नपाइने बताए । ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन । मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस् बेस्सरी !  काम गर काम हावा तालका हो ।’ उनले ठूलाठूला हुँकार नभइ जनतालाई काम चाहिएको पनि बताए । 

यस्तै हर्कले बिहीबार पनि निरन्तर ३ स्टाटस लेखेर बालेनसम्बन्धी टिप्पणी गरेका छन् । एक टिप्पणीमा उनले भनेका छन्, ‘ मैले के भनें कसरी भनें भन्दा पनि मैले भनेको कुराले कस्तो र कति तरंग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु १’

रातो पाटि 

प्रतिक्रिया दिनुहोस्