चुनाव प्रचारका लागि फेसबुकमा ३ करोड खर्च: पार्टीलाई उछिन्दै स्वतन्त्र

| २०७९ मंसिर २ गते २१: ०० मा प्रकाशित

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले फेसबुकमा प्रचार प्रसारका लागिमात्र ३ करोड रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । राजनीतिक पार्टी, तिनका उम्मेदवार, स्वतन्त्र र शुभेच्छुकले समेत गरी निर्वाचन प्रचार प्रसारमा ३ करोड १५ लाख ८५ हजार रुपैयाँ बराबर खर्च गरेको देखिएको हो ।

चुनाव प्रचारप्रसारका लागि उम्मेदवारहरुले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै प्रचारप्रसारका सामग्रीहरु बुस्ट गर्दा यस्तो खर्च आएको हो । प्रचारप्रसारको अन्तिम दिन अर्थात् १७ नोबेम्बरसम्ममा नेपालबाट विभिन्न पार्टी, व्यक्ति तथा संस्थागत रुपमा २ लाख ५० हजार अमेरिकी डलर बराबरको चुनावी प्रचारात्मक सामग्री फोटो, भिडियो तथा सन्देशमुलक सामग्री विज्ञापन भएको फेसबुक सञ्चालक मेटा कम्पनीले जनाएको छ ।

निर्वाचनमा होमिएका राजनीतिक पार्टी तथा उम्मेदवारले प्रतिव्यक्ति सामाजिक सञ्जालमा न्यूनतम एक सय अमेरिकी डलरदेखि अधिकतम ३ हजार ८८० अमेरिकी डलर अर्थात् ५ लाख ५ हजार रुपैयाँसम्म खर्च गरेको तथ्याङ्कमा भेटिएको छ ।

पार्टीलाई उछिन्दै स्वतन्त्र

डिजिटल चुनावी प्रचार प्रसार तथा फेसबुक खर्चमा राजनीतिक पार्टीहरुभन्दा बढी स्वतन्त्र उम्मेदवार आक्रामक देखिएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं.५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङको फेसबुक खर्च सबैभन्दा बढी देखिएको छ । मेटाले उपलब्ध गराएको तथ्याङ्क अनुसार उम्मेदवार गुरुङले १४ नोभेम्बर २०२२ सम्ममा फेसबुक विज्ञापन (प्रचारप्रसार) का लागि मात्र ३ हजार ८८० अमेरिकी डलर खर्च गरेका छन् । यस्तै, दोस्रो नम्बरमा भोजपुरका स्वतन्त्र उम्मेदवार डा.सुरेश बस्नेतले फेसबुकमार्फत चुनाव प्रचारप्रसारका लागि ठूलो खर्च गरेका छन् । बस्नेतले १४ नोभेम्बरसम्म फेसबुक विज्ञापनमा २ हजार ७७० अमेरिकी डलर अर्थात् ३ लाख ६० हजार रुपैयाँ खर्च गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ५ का अर्का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले फेसबुकका लागि २ हजार २३७ अमेरिकी डलर खर्चिएका छन् । काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार किरण पौडेलले २ हजार २३७ डलर, पाल्पा क्षेत्र नं. २ का नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार सोमप्रसाद पाण्डेले १ हजार ५६८ डलर, काठमाडौं क्षेत्र नं.५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १ हजार २६६ डलर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १ हजार २१६ डलर खर्च गरेका छन् ।

यस्तै प्रदेशसभातर्फ काठमाडौं क्षेत्र नं.५ (२) का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेले १ हजार २०३ डलर खर्च गर्दा काठमाडौं क्षेत्र नं.७ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली (आरएसपी) ले फेसबुक प्रचारप्रसारका लागि १ हजार ११७ अमेरिकी डलर खर्च गरेका छन् ।

१० औं नम्बरमा राप्रपाका रविन्द्र मिश्र

चुनावी प्रचारप्रसारको शीर्ष १० मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्र पनि अटाएका छन् । चुनावी प्रचारप्रसारका लागि मिश्रले फेसबुकमार्फत १ हजार ९७ अमेरिकी डलर खर्चेको फेसबुक कम्पनी मेटाले जनाएको छ । विवेकशील साझा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका मिश्र अहिले राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । नेकपा एमालेका मोरङ क्षेत्र नं. ४(ख) का उम्मेदवार जीवन घिमिरेले फेसबुक विज्ञापनमा ९८८ डलर खर्चिएका छन् ।

एकीकृत समाजवादीको फेसबुक खर्च ९७४ डलर

पार्टीगत खर्चलाई हेर्दा सबैभन्दा बढी नेकपा एकीकृत समाजवादी पार्टीले फेसबुकमा विज्ञापन गरेको देखिन्छ । सो पार्टीले निर्वाचन केन्द्रित आफ्नो फेसबुक विज्ञापनका लागि एकमुष्ट ९७४ अमेरिकी डलर खर्च गरेको छ । यस्तै, नेपाली कांग्रेसले ९६९ डलर, ६१२ डलर, १९७ डलर (विभिन्न एकाउन्टहरुबाट) खर्च गरेकोमा नेकपा एमालेले ९९० डलर (विभिन्न एकाउन्टहरुबाट) खर्च गरेको देखिन्छ । यता नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेसबुक पेजबाट १५२ डलर बराबरको विज्ञापन खर्च भएको देखिन्छ ।

राष्ट्रिय जनमोर्चाले १२८ डलर खर्च गर्दैगर्दा अन्य पार्टीहरुले फेसबुक विज्ञापनका लागि न्यूनतम १ सय डलर खर्च गरेको देखिन्छ । उसो त देखिनेगरी पार्टीगत भन्दा व्यक्तिगत रुपमै उम्मेदवारहरुले आ–आफ्नो तरिकाले ठूलो खर्च गरेको देखिन्छ । यसमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार, हाम्रो नेपाली पार्टी (लौरो अभियान) का उम्मेदवार र विभिन्न चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवारहरुले समेत फेसबुकमा ठुलै खर्च गरेका छन् ।स्रोत - रातो पाटि 

प्रतिक्रिया दिनुहोस्