कुटपिटबाट घाइते महिलाको मृ'त्यु

| २०७९ मंसिर १६ गते १६: ३६ मा प्रकाशित

धरान उपमहानगरपालिका– १३ मा डेरा गरी बस्ने एकल महिला उषा राईको उपचारको क्रममा मृत्यु भएपछि यहाँ आमा समूह विवादमा मुछिएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको वेला धरानमा भने महिलाहरूकै समूहले महिलालाई कुटपिट गरेर मृत्यु भएको घटना सार्वजनिक भएको छ ।   

घटनाअनुसार आफ्ना श्रीमानसँग नजिकिएको आरोपमा केही महिलासहित पुगेकी उर्मिला राईले गएको कात्तिक ३ गते अन्धाधुन्ध कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । केही दिन अस्पतालमा उपचार गरेर डिस्चार्ज भएकी उषाले उपचार खर्च पाउने गरी प्रहरी कार्यालयमा मिलापत्र गरिए पनि पुनः स्वास्थ्यमा समस्या आएपछि झन्डै एक साताअघि अस्पताल भर्ना भएकी थिइन् ।  उनको गत मंगलबार उपचारकै क्रममा मृत्यु भएको छ । उनको मृत्यु भएपछि  उषाको परिवारले सातजनाविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।

कुटपिट गर्नेहरू जनजागृति आमा समूहमा आबद्ध भएको भन्दै आमा समूहमाथि सामाजिक सञ्जालमा टीका–टिप्पणी भइरहेको छ । मृतक उषाका श्रीमानकाे करिब दुई वर्षअघि नै मृत्यु भइसकेको छ । उनी दुई छोरीसहित डेरा गरी बस्दै आएकी थिइन् । उनले कपडा सिलाएर घरखर्च जुटाउँदै आएकाे स्थानीयले बताएका छन् ।

आरोपी उर्मिलाले आफ्नो श्रीमानसँग नजिकिएको आरोपमा उषामाथि आफन्त र महिलाहरू लगेर कुटपिट गरेको बताइएको छ । त्यसवेला विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ आमालाई पिलाएको छोरी स्मृति राईले बताइन् । सोही असरले उषाको स्वास्थ्यमा गम्भीर असर पुगेको बताइएको छ । यो घटनामा जनजागृति आमा समूहको पनि नाम आएमा उक्त समूहले पत्रकार सम्मेलन गरी समूहको संलग्नता नभएको र केही सदस्य व्यक्तिगत रूपमा संलग्न भएको बताएको छ । नयाँ पत्रीका बाट साभार 

प्रतिक्रिया दिनुहोस्