नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलले ३० जनालाई लगायो पाँच मुद्दा

| २०८० जेठ १० गते १६: ४९ मा प्रकाशित

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता एकनाथ रिजालसहित ३० जनालाई पाँच वटा मुद्दा लगाउने निर्णय गरेको छ।

प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।

उनीहरूमाथि राज्यविरूद्धको कसुर, ठगी एवं संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो।

प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनमा मुद्दा चलाउने निर्णय भएको र दर्ता गर्न लागेको कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधीश लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए।

‘प्रतिवेदनमा मुद्दा चलाउने निर्णय भएको छ। केहीबेरमा जिल्ला अदालतमा मुद्दा दर्ता गर्न जाँदै छौं,’ उनले सेतोपाटीलाई भने।

नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको थियो। यस प्रकरणमा प्रहरीले १४ जनालाई फरार प्रतिवादी बनाइएको छ।

पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मियाँ, रामशरण केसी र गोविन्द चौधरी छन्।

उनीहरूमाथि राज्यविरूद्धको कसुर, ठगी एवं संगठित अपराध कसुरमा अनुसन्धान गरेको थियो।स्रोत - सेतो पाटी 

प्रतिक्रिया दिनुहोस्