संसदलाई शीर्ष दलको सिन्डिकेट बनाउन खोजियो : सभापति लामिछाने

| २०८० असार २४ गते १८: १३ मा प्रकाशित

काठमाडौं, असार २४ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको छ। आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको हो। 

उहाँले तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले दलहरुले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने बताउनुभयो। उहाँले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘सदन तीन नेताको होइन। सदन प्रतिपक्षको हो अझ बढी। सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ। उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो। नमिल्दाखेरी संसद नचल्ने भयो। संसदमा स्वतन्त्र रुपमा जितेर आउनुभएको मानीयज्यूको पनि उत्तिकै भूमिका रहन्छ। संसदलाई संसदजस्तो बनाउनुपर्छ।’’ 

उहाँले आफूहरु मिटरब्याज पीडितहरुको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताउनुभयो। आफूहरु मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उहाँले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताउनुभयो। उहाँले आफूहरु संसद सुचारु रुपमा चलोस् र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘हामीले यत्ति कुरा भनेका हौँ कि यो महत्त्वपूर्ण अध्यादेशमार्फत आएको मिटरब्याजसम्बन्धी विषय थियो। यसको पक्षमा हामी थियौँ। सरकारले यस्तो महत्वपूर्ण कुरालाई अन्तिम दिनमा ल्याएर के गर्न खोजेको हो ?’’ सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरुले बोलेपछि सभामुखले आफूहरुलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताउनुभयो। उहाँले रास्वपाको आफ्नै अडान र मुद्दा रहेको उल्लेख गर्दै त्यसमा आफूहरु अडिग रहेको बताउनुभयो।गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनुहोस्