प्रचण्ड संसदमा रुन खोजेको भन्दै ओलीले भने– सरकार बनाउने गिराउने खेलमा छैनौं

| २०८० असार २६ गते १६: ४२ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अहिले सरकारमा जाने कुनै मनसायमा नरहेको बताएका छन्। 

कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले तत्काल सरकारमा जाने सोच नरहेको प्रस्ट्याएका हुन् ।

मंगलवार केन्द्रीय कार्यालय च्यासलमा जारी बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उनले आफूहरू सरकार बनाउने/गिराउने कुनै पनि खेलमा सहभागी नहुने बताए ।

२०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिसनमा रहेको उनको भनाइ थियो ।

‘अहिले हामीले सरकारतिर हेरेका छैनौं । त्यतातिर सोचेका पनि छैनौं । हामी ग्रासरूटमा लाग्यौं । अब मिसन– २०८४, मिसन ५१ पर्सेन्ट । यतापट्टि हामी लागेका छौं,’ ओलीले भने ।

ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा रुनै आँटेको भनेर कटाक्ष समेत गरे ।

‘हिजो पनि ठूला कुरा सुन्दै थिएँ म, प्रधानमन्त्रीजी पार्लियामेन्टमा बोलेका कुरा । केटाकेटीको बल नै रुनेमा हुन्छ । आमाको ध्यान तान्ने रोएर, अरूको ध्यान तान्ने रोएर, भोक लाग्यो भन्नुपर्‍यो रुने, थकाई लाग्यो भन्नुपर्‍यो रुने, उसको बल नै, तागत नै त्यही हो,’ प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै ओलीले भने ।

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाउन खोजेको भन्ने आरोपको समेत ओलीले खण्डन गरे ।

प्रतिक्रिया दिनुहोस्