गृहमन्त्रीले बिनासर्त राजीनामा नदिए आमरण अनसन सुरु गर्छु : कांग्रेस सांसद शर्मा

| २०८० सावन ३० गते १६: ०९ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । आफूलाई गैरकानूनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिनासर्त तत्काल राजीनामा दिनुपर्ने उनको जिकिर थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण अनसन बस्ने चेतावनी समेत दिए । त्यसपछि परिस्थितिअनुसार आफूले थप भनाइ राख्दै जाने पनि सांसद शर्माले बताए ।

गृहमन्त्री श्रेष्ठले आफूलाई आतंककारी जस्तो बनाएर पक्राउ गरेकाले बिनासर्त राजीनामा दिनुपर्ने उनको माग छ । उनले भने, “गृहमन्त्रीले राजीनामा गर्नुहुन्न । यो राज्यसत्ता चलाएका प्रधानमन्त्रीहरुले यसमा काम गर्नुहुन्न भने म आमरण अनसन डिक्लिएर गरिदिन्छु । म हेर्छु, के हुन्छ ? त्यसपछि भन्छु ।”

सांसद शर्माले लोकतान्त्रिक मुलुकको सांसदलाई बिनापक्राउ पुर्जी पक्राउ गर्न पाइन्छ ? भनेर समेत पटकपटक प्रश्न गरे । पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि दुई, दुईपटक हातपात समेत गरेको सांसद शर्माले बताए ।रासस 

प्रतिक्रिया दिनुहोस्