हिन्दू हैनौँ’ भन्नेहरुको नाममा- हिन्दु भन्ने बित्तिकै नाक फुलाउने र खुम्च्याउने दुबै अज्ञानी मात्रै हुन्

| २०८० भदौ १० गते १४: १५ मा प्रकाशित

फेसबुकमा मलाई जस्तै तपाईंहरुलाई पनि यस्तो तस्वीर पठाएर पटमुर्खहरुले सोध्छन् होला खै हिन्दु धर्म ? भनेर ! हामी त मस्टो हौं हिन्दु होइनौं भन्दै गर्ने तोरी लाउरेहरु यदाकदा देख्नु भएकै होलान् ……… यो “हिन्दु”शब्द भारतको हो हामी त नेपाली पो हौं भन्ने लन्ठुहरु पनि बजार तिर देख्नु भएकै होलान्।

 हिन्दु धर्म 

 

बाँकी जुनसुकै कुरामा हिन्दुकरण भन्ने हिन्दु लादियो भन्नेहरुलाई प्रस्तुत छ बाँकी लेख मार्फत !

प्रश्न १- हामी एकापसमा भेटघाट हुँदा वा आफू भन्दा अग्रज मान्यजनलाई आदारसत्कार गर्ने क्रममा क्षेत्री बाहुनले भए दुई हात जोडेर नमस्कार,प्रणाम, तामाङले -ल्ह्सो, शेर्पाले -टाशिदेले, राई लिम्बूले -सेवारो गुरुङले -आशिमाला नेवारले जोजोल्पा आदि आदि भन्दै शिर निहुराएर ढोग्ने गर्दछौं, हामी मन्दिरमा थानमा गुम्बामा गएर सष्टंग दण्डवत् गर्दछौं !

अब प्रश्न उठ्छ यो शिर निहुराएर दुई हात जोडेर जम्ले हात पारेर ढोग्ने चलन त बाहुन क्षेत्री हिन्दुले गर्छन् ! यो चलन हिन्दुको हो भने अहिन्दुको संस्कृति चाहिँ के हो त ? अबदेखि कसरी ढोग्ने ? खुट्टा उचालेर ढोग्ने हो की टाउको ठोकाएर ढोग्ने हो ? अहिन्दुको चलन के हो जानकारी कसैले देलान् त ?

प्रश्न २- हामीले बोन्पो, लामा,फेदङ्वा, घ्याब्री, गुराउ आदि सबैले आआफ्नो स्टदेवलाई धूप हालेर वास्नामय बनाएर नैवद्य चढाउँछौं, फुल अक्षेता पानी चढाएर पुजा गर्छौं, अझ वाद्ययन्त्र पनि बजाउने गर्छौं, गुफा(ओढार) देउराली पोखरी वृक्ष यावत प्रकृतिको पुजा गर्ने गर्छौं ! यो कुन धर्मको चलन होला त ? यो हामी अहिन्दुको हो भने यही पद्धतिको त हिन्दुले पनि गर्छन् त्यसो हो भने अब अहिन्दुको के हो त ? कृपया कष्टगरि कसैले जानकारी देलान् ?

प्रश्न ३- हामीले स्तुपा (माने) थान परिक्रमा गर्छौं,हिन्दुले पनि परिक्रमा गर्छन् ! हामीले घाँटीमा माला भिरेर शंख फुक्छौं हिन्दुले पनि त्यही गर्छन्, हामीले देवी देउतालाई दुग्ध, चढाउने पानी चढाउने गर्दछौं विभिन्न थरीका अन्न चढाउने गर्दछौं, हिन्दुले पनि त्यही गर्छन् अर्को हामीले घरमा थानमा गुम्बामा दीप प्रज्वलन गर्छौं हिन्दुले पनि त्यस्तै लाख बत्ति बाल्छन् दियोमा नित्य दीपक बालेर पुजा गर्छन् ! त्यसो भए यो चलन कसको हो ? यो चलन हाम्रो हो की हिन्दुको ? हाम्रो हो भने हामीले हिन्दुलाई लादेको भन्न सक्नु पर्‍यो होइन यो चलन हिन्दुको हो भने हाम्रो के हो त ? सिधा प्रश्नको सिधा उत्तर कसैले खन-खन गरेर नगद देलान् ?

तथाकथित गैर हिन्दु जातिले चाहे त्यो शेर्पा गुरुङ मगर तामाङ चेपाङ जोसुकै होस् स्टदेवको नाउँ जेसुकै लिउन् जुनसुकै पुकारुन् तर दैनिकी हाम्रो जीवन पद्धतिको प्रक्रियामा यही एकै नियम हुन्छ होइन र ? यो हाम्रो सामाजिक जीवन शैली पद्धतिमा कसरी एकरूपता हुन पुग्यो ? यसबारेमा किन हिन्दुको जीवन पद्धति हामी माथि लादिएको भनेर नयाँ अलग्गै खालको साँस्कृतिक जीवन पद्धति खोज्दैन त ?

हो, हामी हिन्दु बौद्ध बोन किराँत देखि प्राकृतिक पुजक सबै हाम्रो जीवन पद्धति एकै हुने गर्छ, यो सामाजिक जीवन पद्धति बारेमा कसैले आएर हिन्दुले लादेको भन्दैन। किन होला ?

अब विषय प्रवेश गरौं।

बिश्वमा मानव सभ्यताको विकास प्रायः नदि छेउछाउ बाट सुरुवात भएको छ। मिस्रको सभ्यता ई.पू. ३४०० मा नील नदी बाट भएको थियो भने यसकै समकालीन सभ्यता हो “मेसोपोटामिया” सभ्यता !

“मेसोपोटामिया” को नाउँ नै यूनानी भाषामा दुई नदि बिचको भूमि भन्ने हुन्छ, यो सभ्यता “दजला” एवं “फरात”नदिको बिचमा बिकास भएको सभ्यता हो। चीनको सभ्यता ह्यांग-हो नदी बाट बिकास भएको हो यो सभ्यता २७०० ई.पू.को मानिन्छ, अरु थुप्रै सभ्यताहरु छन् ती सबै कुनै न कुनै नदिको उब्जाउ भुमि बाट भएको देखिन्छ भने हाम्रो सभ्यता सिन्धु घाटिको सभ्यता हो, यो सभ्यता पनि सिन्धु नदि र सरस्वती(अहिले लुप्त) बाट भएको हो।

सिन्धु घाटिको सभ्यताको खोजीको क्रममा यसको दायरा धेरै फराकिलो पाएपछि इतिहासकारहरुले हड़प्पा सभ्यता नामकरण गरियो, पाकिस्तान देखि पञ्जाब हुँदै हरियाणा प्रान्त सम्म सिन्धु घाटीको सभ्यताको अवशेष पाएकोले अहिले राखीगडीमा उत्खनन जारी छ। सिन्धु नदिको उद्गम क्षेत्र पश्चिम् तिब्बतको कैलाश मानसरोवर हो। कैलाश पर्वतको पश्चिम् दिशातिर बाट जल प्रवाह भएर जाने सिन्धु नदि भारत पाकिस्तान हुँदै अरब महासागरमा गएर विलीन हुन्छ भने पुर्व तर्फ बाट प्रवाहित हुने साङ्पो (तिब्बतीमा पवित्र-भारतमा ब्रम्हपुत्र) नदि अरुणचल प्रदेश हुँदै बंगलादेशमा पुगेर हिन्द महासागरमा पुगेर विलीन हुन्छ।

सिन्धु घाटीको सभ्यता कति पुरानो भन्नेमा एक मत नभएता पनि ई.पू ३३०० देखि २५०० को बिचमा धेरैको राय छ भने, एउटा ब्रिटिश वैज्ञानिक पत्रिका “नेचर”को अनुसार ८००० वर्ष पुरानो भनेर अनुमान् गरेको छ।

“दजला” र “फरात”नदिको बिचमा “मेसोपोटामिया” सभ्यताको बिकास भएको जस्तै हाम्रो यहाँ हिमालय पर्वत शृङ्खला बाट एउटा पुर्व तर्फ बगेर गएको साङ्पो नदि(ब्रम्हपुत्र)अर्को पश्चिम तर्फ बगेर गएको सिन्धु नदिको मैदानी फाँटको बीच भागमा जुन सभ्यता उपसभ्यता हरुको बिकास भयो ती सबै सिन्धु नदिको सभ्यता हुन्।

हिमाल बाट हिउँ पग्लेर गएको जलले गंगा मैदानमा सिंचन गर्दै जुन उर्वर भूमि बन्न पुग्यो, त्यसले कृषि युगमा एउटा सभ्यताको जन्म दियो। सिन्धु घाटिको सभ्यताको सांकेतिक लिपी त अहिलेसम्म कसैले पढ्न सकेको छैन तर त्यहाँ भेटिएको पुरातात्त्विक वस्तुहरुले मुर्ति पुजक सभ्यता रहेकोे देखिन्छ। सिन्धु घाटीको सभ्यताको मोहन जोदडो पुरातात्त्विक स्थलमा पशुपति भएको मुहर पाइएको थियो यसलाई ( सर जॉन मार्शलको अनुसार) “मुहर” नाम दिइएको छ भने यहाँनेर स्वास्तिक चिन्ह अंकित वस्तु पनि फेला परेको छ त्यस्तै उत्खननको क्रममा प्राप्त एउटा मुर्ति तीन मुख भएको उर्ध्वलिंग योग मुद्रामा बसेको शिरमा मुकुट धारण गरेको वरिपरि विभिन्न पशु जनावर रहेकोे माथिल्लो भागमा ६ अक्षर छ जुन अहिलेसम्म कसैले पढ्न सकिरहेको छैन।

सिन्धु घाटीको उत्खननमा भेटिएको यो तीन टाउको भएको मुर्ति भगवान शिवको हुनसक्छ भन्ने धेरै विद्वानहरुको मत देखिन्छ,किनभने शिवलाई योगीश्वर, त्रिशूलधारी, पशुपति, त्रयम्बक तथा त्रिनेत्रधारी भन्ने गरिन्छ। सिन्धु नदिको उद्ग्म पश्चिम तिब्बतको हिमालय क्षेत्र पठार बाट भएको हो जहाँ शिवजीको बासस्थान र उत्पति क्षेत्र मानिन्छ।

तिब्बती सभ्यताविद् इतिहासकार लेखक रॉल्फ अल्फ्रेड स्टीनको अनुसार पश्चिमी तिब्बत झांगझुंग (शांग शुंग) क्षेत्रको राजाले काबुल (अफगानिस्तान) को हिन्दु राजालाई कश्मीरी प्रकारको (तीन टाउको भएको) मूर्ति उपहार दिएको थियो र उक्त मुर्ति तिब्बती राजाले दिएको भनेर दावी गरेको थियो।

सिन्धु घाटीमा पाइएको तीन टाउके मुर्ति र झांगझुंगको भोटको राजाले अफगानिस्तानको हिन्दु राजालाई दिएको तीन टाउके भएको मुर्तिको तादाम्यता अवस्य नै जोडेर हेर्न सकिन्छ।

सिन्धु घाटीको सभ्यताको पछिल्लो वैदिक काल र उत्तर वैदिक काल सम्म हिमाल बाट उनको कारोबार सप्त-सन्धैव क्षेत्रमा हुने गरेको ऋग्वेदमा प्रमाण पाइन्छ, यसबाट हामीले के अनुमान् लगाउन गार्‍हो हुन्न भने सिन्धु सभ्यताको सम्बन्ध नदिको उद्ग्म भूमि हिमालय क्षेत्र र गंगा मैदानको वैदिक क्षेत्र बिचमा सामाजिक सम्बन्ध स्थापित भैरहेको थियो।

पौराणिक काल वा बौद्ध काल सम्म आइपुग्दा सन्धैव क्षेत्र(सिन्धु) गंगा मैदानमा पुर्व तर्फ सरेर वैदिक बौद्ध जैन काल सम्म आइपुग्दा सबैको केन्द्रविन्दु बनारस भएको देखिन्छ भने उत्तर तर्फ नेपालमा लिच्छविहरुको प्रवेश संगै हिमालय क्षेत्रमा (भोट) मा पनि तिब्बती सम्राट स्रङचङ गम्पोले “झंगझुंग” क्षेत्रलाई तिब्बतमा गाभेपछी तिब्बतको मध्ये भागको मङयुल हुँदै ल्हासा केन्द्रित भएपछि बिस्तारै पश्चिम् बाट सभ्यता पुर्व तर्फ सर्न सुरु हुन्छ।

यस सन्दर्भमा डाक्टर लक्ष्मीप्रसाद खतिवडा (हिमालखबर १८ असोज ०७९) लेख्नुहुन्छ :  “ऋग्वेदको नदीसूक्त (१०।७५) अनुसार कुभा (काबुल नदी) देखि अरब सागर र गङ्गादेखि बङ्गालको खाडीसम्म वैदिक भूमि भनेको छ। उपनिषद्कालमा आर्यावर्तको केन्द्र काशी (वनारस) र विदेह (जनकपुर) थियो (वशिष्ठधर्मसूत्र, १।८, ९; बौधायन धर्मसूत्र १।१।२७)।)

यो पुरै भूभाग अफगानिस्तान हिन्दुकुश पर्वत देखि कैलाश पर्वत हुँदै तल्लो मैदान ईलाकाको नाउँ जम्बूद्वीप, भरतखण्ड, हिमवर्ष, अजनाभवर्ष ,आर्यावर्त, हिन्द,हिन्दुस्थान रहन गयो।

हामीले एकथरी कुरा पढ्दै आइरहेका छौं जुन सम्भाव्य कुरा पनि हो “ईरानिहरुले सिन्धु नदीको पुर्वमा बसोबास गर्ने समाजलाई हिन्दु नाम दिइएको थियो, ईरान् को पतन भएपछि अरबी मुस्लिम आक्रमणकारी भारत प्रवेश गर्ने बेला गंगा मैदान इलाकाको मान्छेलाई “हिन्दु” भन्न थालियो भन्ने भनाइ रहेकोे छ तर भारतमा पश्चिम बाट मुस्लिम प्रवेश गर्नु भन्दा एक दुई शताब्दी अगाडि नै आएको चिनियाँ पदयात्रीहरुले यो क्षेत्रको बासीलाई “इन्तु” भनेर भनेको छ भने सप्तसिन्ध’, ‘सप्तसिन्धु’ क्षेत्रलाई प्राचीन फारसीमा ‘हफ्तहिंदू’ भनेको छ भने कुर्द सीमामा प्राप्त बेहिस्तून शिलालेखमा उत्कीर्ण गरेको “हिन्दुश” शब्दले समग्र यो क्षेत्रको भौगोलिक समाजको चित्रण गर्दछ। त्यसको पुष्टि गर्ने एउटा अर्को श्रोत ‘हिमालयात् समारभ्य यावत् इन्दु सरोवरम्। तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते॥’- (बृहस्पति आगम)

अर्थात : हिमाल बाट प्रारम्भ भएर इन्दु सरोवर (हिन्द महासागर) सम्म यो देव निर्मित देशलाई हिन्दुस्थान भन्ने गरिन्छ। यो हिन्दुस्थान भन्ने देश हिमाल देखि हिन्द महासागर सम्म कहिल्यै कुनै देश थिएन यो त महादेश भनेको जस्तो भौगोलिक क्षेत्रको नाम हुन् यस भूक्षेत्रलाई प्राचीन साहित्यमा भरतवर्ष (भारतवर्ष होइन) र अङ्रेजीमा Indian Subcontinent भन्ने गरिन्छ। अत: हिन्दु शब्द कुनै एक खास जाति विशेष वा कुनै सम्प्रदाय वा कुनै पंथ भित्र अटाउने कुरा होइन यो त “हिमालयात् समारभ्य यावत् इन्दु सरोवरम्” सम्म फैलिएको सभ्यताको कुरा हो यहाँ भित्र जे जति अध्यात्मिक भौतिक चेतनाको बिकास भयो ती सबै यही सभ्यताको उपज हुन्, यहाँ बिकास भएको दर्शनलाई पुर्वीया दर्शन अन्तर्गत भरतवर्षको दर्शन भन्ने गरिन्छ “न्यायदर्शन” ” वैशेषिक दर्शन” “साख्य दर्शन” “योगदर्शन” ” मीमांसादर्शन” “वेदान्त दर्शन” “चावार्क दर्शन” “जैनदर्शन” “बौद्धदर्शन” सबैलाई जम्बुद्विप भरतवर्ष हिन्दुस्थानको दर्शनको रूपमा लिनेे गरिन्छ, यो हिन्दु सभ्यताको नुतन उपलब्धि हो।

बाँकी सम्प्रदाय/मार्गी/ पंथ/ त हजारौं हुन्छन् हजारौं जन्मे हजारौं लुप्त पनि भए एकापसमा तँ ठुलो की म ठुलो भन्दै लड्दै पनि बसे अझै लड्दै जालान् यो नौलो कुरा होइन, यो सम्प्रदाय सम्प्रदाय बिचको मतभिन्नता हो सभ्यताको होइन।

आज जसलाई हामी यो धर्म त्यो धर्म भनेर छुट्टाछुट्टै परिचय दिने गर्छौ त्यो भनेको वैदिक धर्म, ब्राह्मण धर्म, बौद्ध धर्म शैव मार्गी वैष्णो मार्गी आदि आदि हुन् तर यी सबै हिन्दु सभ्यताको अंग हुन्, हिन्दु आफैंमा जातिवाचक वा धर्म सम्प्रदाय पंथ होइन यो त हिमाल देखि सागर सम्मको सभ्यताको नाउँ हो।

हिन्दु सभ्यताको चित्रण गर्न एउटा मध्यकालीन ऐतिहासिक घटना बारेमा संक्षिप्त चर्चा गरौं तुर्क खानदानमा जन्मेको तैमूर लंग (८ अप्रैल १३३६ –२८ फरवरी १४०५)जसले तैमूरी राजवंशको स्थापना गरेको थियो, यिनले सन् १३८० र १३८७ को बिचमा खुरासान, सीस्तान, अफगानिस्तान, फारस, अजरबैजान, कुर्दीस्तान सम्म आक्रमण गरेर आफ्नो अधीनमा लिएपछि यिनले भारत माथि आक्रमण गर्ने योजना बनायो।

आफ्नो आत्माकथा “अजायब उल मुकर्दनी बलायच तैमूर” मा यिनले भारत माथि आक्रमणको उद्देश्य प्रष्ट संग खुलाएको छ- ” पैगम्बर माथि विश्वास नगर्ने काफिरहरुसंग युद्ध गर र तिनीहरुमाथि कठोरता पुर्वक आक्रमण गर भन्दै अगाडि लेख्छन् हिन्दुस्तानमाथि आक्रमण गर्नुको उद्देश्य काफिर मुर्तिपुजकहरुमाथी मेरो जिहाद (बिद्रोह) हो। जसले इस्लामको सेनाले पनि हिन्दुको धन सम्पत्ति देखि तिनीहरुलाई गुलाम बनाएर महिलाहरुलाई लुटेर लैजान सकोस् !!

यहाँनेर यिनले हिन्दुस्तानको मुर्तिपुजक हिन्दुहरु भनेर भनेको छ तर को बौद्ध को हिन्दु को जैन भनेर छुट्टाएको छैन सिर्फ हिन्दु भनेको छ, यिनको लागि हिन्दु सभ्यताको सबै मुर्तिपुजक हिन्दु हुन्।

तैमूर लंग आक्रमण गर्न पश्चिम्बाट भारत तर्फ अगाडि बढ्दै आएर अफगानिस्तानमा आइपुगेपछी त्यहाँको एकजना राजा अब्दुल्ला वली उल मुल्क संग भेट हुन्छ, त्यहाँ दुई जनाको बिचमा सम्बाद हुन्छ।

अब्दुल्ला वलीले तैमूरलाई सोध्छन् – अमीर तिमी कहाँ जान खोज्दै छौ ? र तिम्रो के उद्देश हो ? तैमूरले पुरै हिन्दुस्तान जित्ने यावत आफ्नो सारा उद्देश्य बताएपछि वली उल मुल्कले भन्छ – अमीर ! तिमी हिंदुस्तानलाई जित्ने ख्याल छोड़ देउ

तैमूरले किन छोड्ने भन्दै कारण सोध्छ – वली उल मुल्कले हिन्दुस्तानको जानकारी दिँदै भन्छ- हिंदुस्तानमा २ हजार बादशाह बस्छन्, यदि खुदाले तिमिलाई १०० सालको उमेर दिएर पुरै उमेर लड्दै रहे पनि तिमिले पुरै हिंदुस्तान माथि बिजय प्राप्त गर्न सक्दैन।

त्यसपछि तैमूरले भन्छ- त्यसो भए महमूद गजनवीले पुरै हिंदुस्तानमाथि कसरी बिजय प्राप्त गर्‍यो ?
वली उल मुल्कले भन्छ- अमीर महमूद गजनवीले हिंदुस्तानको सिर्फ एउटा कुना मात्रै जितेको हो, तिमिलाई थाहा छ हिंदुस्तान कति विशाल देश हो भनेर ?

कस्तो कस्तो जातिहरु त्यहाँ बस्छन्, हिंदुस्तानको एउटा कुना एकदम जाडो भैरहेको बेला अर्को कुनामा एकदम गर्मी भैरहेको हुन्छ। हिंदुस्तानमा एउटा कुनामा गाईलाई पवित्र मानेर पुजा गर्छन् भने अर्को कुनामा जिउँदो मान्छेको मासु खाने जाति बसोबास गर्छन्” भनेर सम्भवत नागाल्याण्ड सम्मको कुरा गरेको हुनसक्छ।

यो सम्बादबाट पनि हेरौं मध्यकालीन समयमा हिन्दुस्तान भित्र दुई हजार मुर्तिपुजक महाराजहरु छन् अर्थात दुई हजार देश छन् हिमाल देखि सागर सम्म भनेर परिचय दिँदै गरेको बाट पनि सहजै बुझ्न सक्छौं हिन्दु- हिन्दुस्तान- जम्बुद्विप- आर्यवर्त-भरतवर्ष- Indian Subcontinent को सभ्यता हो। सभ्यता भनेको सामाजिक संरचना हो, ज्ञान् कला प्रविधि जीवन पद्धति एकै हुन्छ, उदाहरणका लागि नील नदिको सभ्यता बाट उठेको जुडिस धर्मावलम्बी इजरायलको प्रधानमन्त्रीको टोपी होस् वा भ्याटकिन सिटीको पोपको टोपी होस् वा मुस्लिमको मुल्लाको टोपी होस् वा एकापसमा भेट्दा आदार सत्कार गर्ने शैली होस् एकै हुन पुग्छ, ह्वाङहो नदिको सभ्यताको ताओ होस् वा कन्फ्युसियस मान्ने होउन् वा जेन मान्ने होस् बजाउने ढ्याङ्ग्रो देखि रहननसहन आदार सत्कार गर्ने जीवन शैली एउटै हुन्छ ठिक त्यस्तै सिन्धु नदिबाट उद्ग्म भएको हिन्दु सभ्यता भित्र क्षेत्रीबाहुनले दुई हात जोडेर प्रणाम जदौ तामाङले -ल्ह्सो, शेर्पाले -टाशिदेले राई लिम्बूले -सेवारो गुरुङले -आशिमाला नेवारले जोजोल्पा आदि आदि भन्दै शिर निहुराएर ढोग्ने, आशीर्वचन दिने हाम्रो जीवन पद्धति एउटै हुन्छ किनभने हाम्रो सभ्यता एउटै हो त्यो हो हिन्दु सभ्यता !

यहाँनेर हिन्दु भन्ने बित्तिकै नाक फुलाउने र खुम्च्याउने दुबै छन् ती अज्ञानता मात्रै हुन्, हिन्दु एक सभ्यताको नाउँ हो कुनै जाती विशेष भूगोल क्षेत्र नश्ल बिशेश होइन।

त्यसैले हिन्दुराज्य भनेको पुर्वीया जीवन पद्धतिको अनुसरण गर्ने सभ्यताको संरक्षक राज्यको माग हो न की कुनै बाहुन क्षेत्रीको एउटा सम्प्रदायको एउटा जातिको हितार्थ माग हो।

हिन्दुराज्य धर्मसंग जोडिएको कुरा होइन सभ्यतासंग जोडिएको कुरा हुन्, हिन्दुराज्य जानु भनेको सभ्यता जानु हो। प्रमाणको लागि हिन्दुराज्य हटाएपछि ब्राह्मण धर्म वैदिक धर्मलाई पो ठूलो हानी नोक्सानी हुनुपर्ने थियो तर यहाँको रैथाने बौद्ध बोन किराँत धर्ममा पो बढी पहिरो गयो ! किन गयो ?

पृथ्वीनारायण शाहको पालामा आएर २५० वर्ष सम्म बस्दा जम्मा दुईवटा चर्च घर बनाउन सकेको पश्चिमी सभ्यताको क्रीस्चियनले हिन्दुराज्य फालेपछी यही बीस तीस वर्ष भित्र ५० हजार चर्च र २० लाख क्रीस्चियन कसरी बढ्यो ? किनकि हिन्दुराज्य अर्थात् “सभ्यताको राज्य” हामीले फाल्यौं !

हिन्दुराज्य भनेको बाहुनको मात्रै राज्य भन्न लगाएर फाल्यौं ! तर त्यो त हामी सबैको सभ्यता संग जोडिएको विषय थियो। एउटा बिशाल वृक्ष जस्तो जहाँ प्रत्येक हाँगो बिंगोमा हामी आश्रति थियौं, हामीले वृक्ष यसकारणले ढाल्यौं की त्यो एउटा जातको एउटा नश्लको मात्रै वृक्ष भनेर ढाल्यौं, बिशाल वृक्ष ढालेर हामी आजाद हुन्छौं हामी स्वतन्त्र हुन्छौं भनेर ढाल्यौं तर आज गुंड लगाउन गाउँ गाउँमा चर्च घरमा भिंड लाग्दै छ।

त्यसैले  मस्ट हौं, हिन्दु होइन !  बोन हौं, हिन्दु होइन !  किराँत हौं, हिन्दु होइन! बौद्ध हौं, हिन्दु होइन भन्नेहरुले बुझुन् हिन्दु यो हाम्रो सभ्यता हो, सभ्यता मासेपछी पानीटंकीमा पानी सुकाएर धाराको टुटीमा पानी आउँछ भनेर गाग्री थाप्ने मुर्ख जस्तै हुन् !!

-मोहन लामा रुम्बाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्