हेल्लो सरकारको २४ घण्टे सेवापछि जनताका गुनासा बढे

| २०८० भदौ १९ गते ११: ०० मा प्रकाशित

काठमाडौं । हेल्लो सरकारमा जनताका गुनासा बढ्न थालेका छन् । सेवा २४ घण्टा नै सञ्चालन गर्नुका साथै सम्बोधन हुन थालेपछि गुनासा बढ्न लागेका हुन् ।

बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी प्रधानमन्त्रीप्रचण्डले आइतबार शुभारम्भ गरेको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेकी थिइन् । गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको सचिवालयको दाबी छ ।

नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ सुरुआतको लागि शुभकामना दिनका लागि फोन गर्ने गरेको पनि पाइएको छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ ।


यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरूपमा बढ्दो क्रममा रहेको, सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यस्तै प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ ? जस्ता जानकारी पनि माग हुने गरेको पाइएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको ।onlinekhabar

प्रतिक्रिया दिनुहोस्